ओली र श्रेष्ठको भेट स्वाभाविक : देव गुरुङ

काठमाण्डौ – नेकपा (माओवादी केन्द्र) का नेता देवप्रसाद गुरुङले पार्टीका नेता नारायणकाजी श्रेष्ठले एमाले अध्यक्ष ओलीसँग गरेको भेटलाई स्वाभाविकै रूपमा लिइएको प्रतिक्रिया दिएका छन् । आज सोमवार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।

नेता गुरुङले आउँदो असार १५ गते बस्ने केन्द्रीय कमिटी बैठकले पदाधिकारी चयन गर्ने सङ्केत गरे ।
उनले भने, ‘पदाधिकारीको विषयमा पार्टीले आवश्यकताअनुसार केन्द्रीय कमिटीको बैठक बसेर उपयुक्त समयमा निर्णय गर्न सक्छ । अब असारको १५ गते केन्द्रीय कमिटीको बैठक बस्ने भनेर भनिएको छ । सम्भवतः त्यो बैठकमा पनि हुन सक्दछ ।’

नेता गुरुङले राष्ट्रिय स्वाधीनताको सवालमा निकट रहेको पार्टीसँग आउँदो प्रदेश र प्रतिनिधि सभा चुनावमा सहकार्य गरेर जान सकिने धारणा राखे ।