१५ असारसम्म ८० हजार मेटिकटन मल उपलब्ध हुन्छ : कृषि मन्त्री

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्रराय यादवले १५ असारसम्म ८० हजार मेटिकटन मल उपलब्ध हुने आश्वासन दिएका छन् । कृषि मन्त्रालयको विनियोजित बजेट सम्बन्धमा प्रतिनिधिसभामा भइरहको मन्त्रालयगत छलफलमा उठेको प्रश्नको जवाफ दिंदै मन्त्री यादवले साल्ट्रडिङले ठेक्का लगाएको मल त्यो बेलासम्म आइपुग्ने दाबी गरे ।

नेपालमा रासायनिक मल कारखाना खोल्ने मोडालिटि चाँडै टुंगिने अवस्थामा पुगेको बताएका छन् । नेपालमा रासायनिक मल कारखाना खोल्नका लागि सरकारले यस वर्ष बजेट विनियोजन गरेको भन्दै उनले कारखानाको मोडालिटि टु‌ंग्याउन छलफल भइरहेको बताए ।

‘डीएपी र युरिया मल ८० हजार मेट्रिकटन १५ असारसम्म आउँछ, अहिले हामीसँग १४ हजार मेट्रिकटन छ,’ मन्त्री यादवले भने, ‘भारतसँगको जीटूजीको मल पनि छिट्टै ल्याउन पहल गरिरहेका छौं ।’ किसानलाई रासायनिक मलको सट्टा नानो यूरिया मल प्रयोग गर्न पनि उनले सुझाए ।

मन्त्री यादवले किसानको माटो परिक्षणका काम पनि प्राथमिकतामा परेको बताए । उत्पादित कृषि उपज संरक्षणका लागि शीतभण्डार र अन्न भण्डार निर्माणका लागि पनि स्थानीय तहसँगको सहकार्यमा सरकारले बजेट विनियोजन गरेको मन्त्री यादवले बताए ।