प्रधानमन्त्री बालेन्द्र शाहले भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक विकृति हटाउन सबै एकजुट हुन आवश्यक रहेको बताएका छन् । बुधबार विजयादशमीको शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले हरेक नागरिकलाई ‘हाम्रा लागि सरकार छ’ भन्ने महसुस गराउन आवश्यक रहेको बताएका हुन् ।
उनले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको उल्लेख गरेका छन्। इमानदार प्रयास, अठोट र सामूहिक मेहनतले समाजमा रहेका विकृति हटाउन मद्दत गर्ने उनको भनाइ छ ।
‘विजयादशमीले मानिसमा रहेका अहंकार, लोभ, ईर्ष्या, हिंसा र विभेदजस्ता नकारात्मक सोचलाई त्याग्न प्रेरणा दिन्छ,’ उनले भनेका छन्, ‘आजको दिनमा आसुरी प्रवृत्तिको रूपमा रहेको भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक विकृति हटाउन र हरेक नागरिकलाई हाम्रा लागि सरकार छ भन्ने महसुस गराउन हामी सबै एकजुट हुन आवश्यक छ ।’
प्रधानमन्त्री शाहले विजयादशमीको अवसरमा देश तथा विदेशमा रहेका सबै नेपालीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्। विजयादशमीलाई असत्यमाथि सत्यको विजयका रूपमा उल्लेख गर्दै उनले यस पर्वले समाजमा सद्भाव, एकता, सम्मान र प्रेम बढाउन प्रेरित गर्ने बताएका छन् ।
उनले भौगोलिक, सांस्कृतिक र भाषिक विविधतायुक्त समाजमा सबै वर्ग, समुदाय र क्षेत्रका नागरिकलाई एउटै सूत्रमा बाँध्न विजयादशमीले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । साथै, वर्षौंसम्म छुट्टिएका साथीभाइ तथा आफन्तजनसँग आत्मीयता साट्ने अवसरका रूपमा पनि यस पर्वलाई लिएको उनको भनाइ छ ।
अन्त्यमा उनले सबैलाई आआफ्नो ठाउँ र क्षमताअनुसार विजयादशमी मनाउन तथा आपसमा सद्भाव, एकता, सम्मान र माया साटासाट गर्न आह्वान गरेका छन् ।














