नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनमा सात प्रकारका समस्या रहेको बताएका छन् । मंगलबारबाट सुरु भएको स्थायी कमिटि बैठकमा १३ पेज लामो चुनावी समिक्षात्मक प्रतिवेदन पेश गर्दै अध्यक्ष नेपालले पार्टीभित्र र गठबन्धनभित्रका समस्या किटान गरेका हुन् ।
अध्यक्ष नेपालको प्रतिवेदनमा आफ्नो पार्टीका उम्मेदवारहरूले स्थानीय तह निर्वाचनमा प्राप्त गरेको कुल मत ९ लाख २३ हजार २१९ रहेको उल्लेख गरेका छन् । ‘यो मतमध्ये आधा गठबन्धनका अन्य दलहरूको र आधा मात्रै हाम्रो मान्ने हो भने पनि करिव पाँच लाख मत हामीले प्राप्त गरेका छौं’, नेपालको प्रतिवेदनमा उल्लेख छ ।
यस्तै निर्वाचनका सन्दर्भमा तीनथरी समस्या देखापरेको भन्दै उनले पहिलो गठबन्धनभित्रका समस्या, दोस्रो आफ्नै पार्टीभित्रका समस्या र तेस्रो प्राविधिक एवं प्रशासनिक समस्या औल्याएका छन् । त्यस्तै उनले गठबन्धनभित्र सात समस्या रहेको प्रतिवेदनमा औल्याएका छन् ।
‘पहिलो, गठबन्धन गर्न नै नचाहने । दोस्रो, गठबन्धनमा भएको निर्णय कार्यान्वयन नगर्ने । तेस्रो, गठबन्धनभित्र उपगठबन्धन गर्ने । चौथो, गठबन्धन भएका स्थानमा इमान्दारीपूर्वक भोट नहाल्ने । पाँचौँ, गठबन्धन बाहिरका दलसँग चुनावी तालमेल गर्ने । छैठौं, गठबन्धनमा रहेका दलहरूमा सहकार्यको भावना ज्यादै कमजोर हुनु । सातौं, गठबन्धनलाई आफ्नो हितमा मात्र प्रयोग गर्न चाहनु’, नेपालको प्रतिवेदनमा भनिएको छ ।















