इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) अन्तर्गतको कुद्स फोर्सका प्रमुख कमाण्डर ब्रिगेडियर जनरल इस्माइल काआनीले गाजास्थित लडाकु समूहहरूले इजरायलविरुद्ध ठूलो सैन्य कारबाही गर्न सक्ने चेतावनी दिएका छन्। इरानको सरकारी समाचार एजेन्सी आईआरएनएलाई उद्धृत गर्दै उनले इजरायललाई सावधान रहन आग्रह गरेका हुन्।
काआनीले लेबनानस्थित हिज्बुल्लाहको सैन्य क्षमताको उदाहरण दिँदै भने, “जब हामीले हिज्बुल्लाहसँग मिर्साद ड्रोनहरू छन् भनेका थियौं, तपाईंहरूले त्यसलाई गम्भीरतापूर्वक लिनुभएन र त्यसको परिणाम भोग्नुपर्यो। ती सयौं हताहतीको जवाफ कसले दिने?”
उनले गाजाको अवस्थालाई संकेत गर्दै थपे, “गाजासँग पनि एउटा बाढी छ। यदि तपाईंहरूले आफ्ना राजनीतिज्ञहरूको चाहनाअनुसार कदम चाल्नुभयो भने, त्यो बाढीमा फस्नुहुनेछ। त्यसैले सावधान रहनुहोस्।”
काआनीको यो अभिव्यक्ति इजरायल–गाजा तथा लेबनान क्षेत्रमा जारी तनावका बीच आएको हो। उनले इजरायलका सैन्य कदमहरूले क्षेत्रीय प्रतिरोधी समूहहरूलाई थप सक्रिय बनाउन सक्ने संकेत समेत दिएका छन्।
यता हेज्बुल्लाहसँग युद्धविराम सहमति गरेको भोलिपल्टै इजरायलले शनिबार दक्षिणी लेबनानमा हवाई आक्रमण गरेको छ । टाइम्स अफ इजरायलका अनुसार आक्रमणमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ । लेबनानको सरकारी समाचार एजेन्सी एनएनएका अनुसार इजरायली विमान र ड्रोनले शनिबार बिहानभरि नाबातिह क्षेत्रमा धेरैपटक आक्रमण गरे । हमलाबाट आवासीय भवन र घर ध्वस्त भएका छन्। इजरायली सेनाले तोपखानाको गोली पनि चलाएको थियो ।
यसैबिच अमेरिका र इरानबिच भएको शान्ति सम्झौताका सर्तबारे छलफल गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ शनिबार स्विट्जरल्यान्ड प्रस्थान गरेका छन् । सीएनएनका अनुसार अमेरिका र इरानले इजरायल र हेजबुल्लाहबिच द्वन्द्वका कारण पहिले रोकिएको वार्ता पुनः सुरु गर्ने प्रयास गरिरहेका छन् । रिपोर्टमा भनिएको छ, ‘हालैको युद्धविरामपछि वातावरण केही शान्त भएकाले वार्ता पुनः सुरु हुन सक्छ। डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुसनर पनि यस प्रक्रियामा संलग्न हुने अपेक्षा गरिएको छ ।’
सम्झौताअनुसार दुवै देशलाई अन्तिम सम्झौतामा पुग्न ६० दिनको समयसीमा दिइएको छ। यसैबिच एक्सियोसको रिपोर्टअनुसार इरानका विदेशमन्त्री अब्बास अराघची पनि आज स्विजरल्यान्ड पुग्न सक्छन्, यद्यपि यो आधिकारिक रूपमा पुष्टि भएको छैन। यसअघि शान्ति सम्झौता लागु गर्ने विषयमा अमेरिका र इरानबिच शुक्रबारै स्विट्जरल्यान्डमा हुने भनिएको वार्ता स्थगन गरिएको थियो।
लेबनानमा इजरायलले आक्रमण जारी राखेकाले दुई पक्षबिच मतभेद कायमै छ।















