क्रस होल्डिङलाई हटाउन ९ कम्पनीलाई बीमा समितिको निर्देशन, नहटाए मर्जर

बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले एक भन्दा बढी बीमा कम्पनीमा लगानी गर्ने ठूला लगानीकर्तालाई बीमा समितिले मर्जरमा जान वा शेयर बेच्न निर्देशन दिएको छ । दुईमध्ये एक विकल्पमा नगए सम्बन्धित बीमा कम्पनीको व्यवसायिक कारोबार रोक्कासम्मको कारवाही गरिने चेतावनी बीमा समितिले दिएको हो ।

समितिले केही समयदेखि बीमा कम्पनीहरूमा भएको क्रस होल्डिङको बारेमा अध्ययन गरेको थियो । समितिले ३ निर्जीवन बीमा कम्पनी र ६ जीवन बीमा कम्पनीलाई क्रस होल्डिङ हटाउन निर्देशन दिएको हो ।समितिले क्रस होल्डिङ घटाउन निर्देशन दिएका जीवन बीमा कम्पनीतर्फ नेपाल लाइफ, सूर्या लाइफ, ज्योति लाइफ, आइएमई लाइफ, एलआइसी नेपाल र रिलायबल नेपाल लाइफ छन् ।यस्तै, निर्जीवन बीमा कम्पनीतर्फ भने नेपाल इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स र आइएमई जनरल इन्स्योरेन्सलाई क्रस होल्डिङको सीमा हटाउन निर्देशन दिएको हो ।

बीमक दर्ता तथा बीमा व्यवसाय सञ्चालन सम्बन्धी निर्देशिका, २०७३ मा एउटै लगानीकर्ताले विभिन्न कम्पनीमा लगानी गर्न नपाउने व्यवस्था छ ।समितिद्वारा जारी उक्त निर्देशिकाअनुसार एउटा लगानीकर्ता वा एकाघरका सदस्यको नाममा १५ प्रतिशतभन्दाबढी लगानी गर्न पाइदैन ।

यस्तै, एउटा कम्पनीमा १५ प्रतिशत लगानी गरेका लगानीकर्ताले उस्तै प्रकृतिको अर्को बीमा कम्पनीमा एक प्रतिशतभन्दा बढी लगानी गर्न नपाईने व्यवस्था निर्देशिकाले गरिदिएको छ ।समितिले एउटा संस्थामा १५ प्रतिशत सेयर रहेको व्यक्ति तथा समूहको अर्को संस्थामा १ प्रतिशतभन्दा बढी भएमा त्यसलाई घटाउनका लागि २ वर्षको समय दिएको थियो ।

बीमा समितिले गत साता समान शेयरधनी भएका कम्पनीका संचालक र त्यस्ता बीमा कम्पनीका सिईओहरुलाई बीमा समितिमा बोलाएर मर्जरमा जान वा एउटा कम्पनीको शेयर रोजेर बाँकी कम्पनीको सेयर बेच्न निर्देशन दिएको हो ।

लगत्तै बीमा समितिले साझा सेयरधनी (क्रस होल्डिङ) देखिएका कम्पनीका लगानीकर्ताहरुलाई तीन बुँदे लिखित निर्देशन पठाएको बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले जानकारी दिए । बीमा समितिले ९ बीमा कम्पनीहरुलाई यस्तो पत्र पठाइएको छ । निर्देशन अनुसार क्रस होल्डिङ हटाउन नसके मर्जरमा जानुपर्ने समितिले बताएको छ ।