एनसीसी, कुमारी र सनराइज बैंकलाई मर्जरमा जान राष्ट्र बैंकको निर्देशन

नेपाल राष्ट्र बैंकले एनसीसी, कुमारी र सनराइज बैंकलाई मर्जरमा जान निर्देशन दिएको छ । तीनवटा बैंकलाई राष्ट्र बैंकले छुट्टा–छुट्टै छलफल गर्दै उक्त निर्देशन दिएको हो । राष्ट्र बैंकले ०७९ पुससम्ममा जोडी खोजेर मर्जरमा जान निर्देशन दिएको छ ।

यस्तै उक्त बैंकका अध्यक्षहरुले राष्ट्र बैंकको निर्देशन बमोजिम ०७९ पुस मसान्तसम्ममा उपयुक्त जोडी खोजेर मर्जरमा जाने प्रतिवद्धता व्यक्त गरेको जनाइएको छ । राष्ट्र बैंकले केही समयअघि सिद्धार्थ, लक्ष्मी, माछापुच्छ्रे, सानिमा र सिटिजन्स बैंकका प्रतिनिधीलाई बोलाएर अहिलेसम्म मर्जरको समझदारी नगरेका ३ वाणिज्य बैंकलाई मर्जर वा गाभ्न आग्रह गरेको थियो ।

यस्तै मर्जरका लागि कुमारी र लक्ष्मी बैंकबीच लामो समयदेखि छलफल चलिरहेको छ तर टुंगोमा भने पुग्न सकेको छैन्।

यता एनसीसी र नबिल बैंक पनि मर्जरमा जाने सम्बन्धमा छलफल गरेका थिए । यद्धपी मर्जरमा जाने सम्बन्धमा दुवै बैंकहरुले औपचारिक रुपमा भने कुनै जानकारी सार्वजनिक गरेका छैनन् ।

त्यस्तै सनराइज बैंक मर्जरमा जानका लागि लामो समयदेखि पार्टनरको खोजीमा छ । सनराइज बैंकले सिर्जना फाइनान्स एक्वीजिशन गर्ने समझदारी गरेर पछि समझदारी तोडेको थियो । यही कारण केन्द्रिय बैंकले सनराइजलाई ३ वर्षसम्म शाखा विस्तार गर्न रोक लगाएको छ । सनराइजमा जलविद्युत् लगानीकर्ता समेत रहेका शैलेन्द्र गुरागाईँ समूह र दुगड समूहबीच विवाद भएपछि सिर्जना फाइनान्स गाभ्ने समझदारी तुहिएको थियो । त्यसैलेपनि सनराइजलाई मर्जरमा जानका लागि बाध्यता पनि छ ।