प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल आयल निगम, नेपाल विद्युत् प्राधिकरण, नेपाल वायुसेवा निगम लगायतका सार्वजनिक संस्थाहरु नाफामा रहेको दाबी गरेका छन् ।
शुक्रबार काठमाडौंमा नेपाल पत्रकार महासंघको २७औँ महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
“सार्वजनिक संस्था र संस्थान व्यवस्थापना सुधार गरिँदै छ । नेपाल आयल निगम, नेपाल विद्युत प्राधिकरण, नेपाल वायुसेवा निगम लगायतका सार्वजनिक संस्थाहरु नाफामा गएका छन्,” प्रधानमन्त्री प्रचण्डले भने ।
हालै सम्पन्न लगानी सम्मेलनमा उत्साहवद्र्धक रूपमा विदेशी लगानीकर्ताहरूको सहभागिताले फेरि नेपाललाई विकासको गति दिने आधार तय भएको दाबी गर्दै उनले आफूले नेतृत्व सम्हाल्दै गर्दा देशको आर्थिक स्थिति र अहिलेको देशको आर्थिक स्थितिमा धेरै सुधार भएको जिकिर गरे ।
आफूले नेतृत्व सम्हाल्दै गर्दा देशको आर्थिक स्थिति र अहिलेको देशको आर्थिक स्थितिमा धेरै सुधार भएको जिकिर समेत उनले गरे ।
शोधनान्तर स्थिति, वैदेशिक मुद्राको सञ्चिति, विप्रेषण, आय, राजश्व संकलनमा सुधार जस्ता कारणले अर्थतन्त्रका सूचकहरु विस्तारै सकारात्मक दिशातिर अघि बढेको पनि बताए ।
‘मैले नेतृत्व सम्हाल्दै गर्दा देशको आर्थिक स्थिति के थियो ? तपाईं हामी कुन सन्त्रासमा गुज्रिएका थियौँ भन्नेकुरा हामी सबैलाई थाहा छ । तर अहिले क्रमशः सुधार आइसकेको छ । शोधनान्तर स्थिति, वैदेशिक मुद्राको सञ्चिति, विप्रेषण, आय, राजश्व संकलनमा सुधार जस्ता कारणले अर्थतन्त्रका सूचकहरु बिस्तारै सकारात्मक दिशातिर अघि छन्,’ उनले भने ।
उनले वित्तीय नीति र मौद्रिक नीतिमा एकरुपता ल्याइ लगानीको वातावरण सिर्जना गरिएको, बैंकको ब्याजदर घटाइएको र लघुवित्त र सहकारीका समस्या समाधानको पहल गरिएको बताए ।
‘वित्तीय नीति र मौद्रिक नीतिमा एकरुपता ल्याइ लगानीको वातावरण सिर्जना गरिएको छ । बैंकको ब्याजदर घटाइएको छ । लघुवित्त र सहकारीका समस्या समाधानको पहल गरिएको छ। सार्वजनिक संस्था र संस्थान व्यवस्थापना सुधार गरिँदैछ,’ उनले भने ।
प्रधानमन्त्री प्रचण्डले मिडिया सम्बन्धी कानून निर्माणको प्रक्रियालाई सरकारले प्राथमिकतामा राखेको पनि बताए ।