कैलाली – कैलालीको धनगढीमा अनसनरत डाक्टर गोविन्द केसी उपचारका लागि बुधबार साढे चार बजे काठमाडौं आउने भएका छन् । मंगलबार नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं आउन अस्वीकार गरेका उनी आज भने आफ्नै खर्चमा आउन तयार भएका हुन् ।
डाक्टर केसी काठमाडौं आएपछि त्रिवि शिक्षण अस्पतालमा उपचार गरिने छ । चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधारको माग राखेर केसी १० दिनदेखि अनशनरत छन् । चिकित्सा क्षेत्र र स्वास्थ्य क्षेत्रको सुधारसहित विभिन्न ७ बुँदे माग राखेर उनी आमरण अनसनमा बसेका हुन् । १० दिन लामो अनसनका कारण उनको स्वास्थ्यस्थिति कमजोर बनेको छ ।
डा. केसीलाई टाउको दुख्ने, रिँगटा लाग्ने, स्वास फेर्न गाह्रो हुने, धेरै कमजोरी, जस्ता समस्या देखिएको सेती प्रादेशिक अस्पतालले जनाएको छ । उनको शरीरमा रक्तचाप र अक्सिजनको मात्रा कम भएको छ । यस्तै मांशपेशी सुक्दै गएको छ भने पेटमा कडा खालको अल्सरको लक्षण देखिएको छ ।