डेङ्गी नियन्त्रणमा सरकार असफल : एमाले

काठमाण्डौ – नेकपा एमालेले डेङ्गी रोकथाम तथा नियन्त्रणमा सरकार चुकेको जनाएको छ । एमालेको स्वास्थ्य तथा जनसङ्ख्या विभाग प्रमुख योगेश भट्टराईले आज बुधवार विज्ञप्ति निकालेर डेङ्गी फैलिरहे पनि रोकथाममा सरकार चुकेको बताए ।

काठमाण्डौमा डेङ्गी फैलिएकाले मानिसमा त्रास सिर्जना भएको र यो रोगको फैलावटको तुलनामा सतर्कता, नियन्त्रण र उपचारमा सरकारसँग जुन तहको योजना, कार्यक्रम र सक्रियता हुनुपर्थ्यो, त्यसमा सरकारी संयन्त्र असफल भएको विज्ञप्तिमा भनिएको छ ।

एमालेले डेङ्गीबाट २१ जनाको ज्यान गएको र ७५ जिल्लामा यसका लक्ष्यण देखा परेका बिरामी फेला परेको उल्लेख गरेको छ । डेङ्गीको नियन्त्रण र उपचारमा सरकारको गम्भीर ध्यानाकर्षणसमेत गरिएको छ । ‘स्वास्थ्य संस्थामा बिरामीका लागि बेड छैन, हजारौँको सङ्ख्यामा बिरामीहरू स्वास्थ्य परीक्षणको अभावका कारण घरमै छटपटाउन बाध्य छन्’, विज्ञप्तिमा उल्लेख गरिएको छ ।