स्वच्छ ऊर्जा विस्तारमा नेपालको अग्रणी भूमिका

काठमाडौँ– केही वर्षअघिसाँ ऊर्जा संकटकालको सामना गरिरहेको नेपाल अहिले विद्युत् ऊर्जामा आन्तरिक माग धान्न सक्ने मात्र नभई वर्षायाममा निर्यात गर्ने अवस्थामा पुगेको छ । नेपालले प्रदूषित ऊर्जा स्रोतहरुबाट स्वच्छ विद्युत् ऊर्जातर्फ छिटोभन्दा छिटो रूपान्तरणको दिशामा बढेको छ । यसले हरित गृह ग्यासको उत्सर्जन कम गर्नुका साथै आर्थिक जोखिमतालाई घटाउन पनि मद्दत पुग्दछ ।

नेपालको ९८ प्रतिशत विद्युत् उत्पादन जलविद्युत् र नवीकरणीय ऊर्जाका स्रोतहरूबाट हुने गर्दछ । यस्ता स्वच्छ ऊर्जाका स्रोतहरूबाट अहिले २२ सय मेगावाट विद्युत् आपूर्ति भइरहेको छ भने पाँच हजार मेगावाट निर्माणाधीन रहेका छन् । त्यसैले देश विद्युत्बाट खाना पकाउन, विद्युतीय सवारी, औद्योगिक तथा व्यापारिक क्षेत्रमा आपूर्ति गर्ने सम्भावना रहेको छ भने कृषि क्षेत्रमा तताउन, चिस्याउन र पानी तान्न सकिन्छ । यसले गर्दा नेपालको ऊर्जासँग सम्बन्धित क्षेत्रबाट हुने कार्बनडाइअक्साइडको उत्सर्जनलाई २०३० सम्म ८.६ मिलियन मेटिक टन र २०४५ सम्म ३५०० मिलियन मेट्रिक टन न्यूनीकरण गर्न सकिन्छ ।

यसबाहेक स्वच्छ ऊर्जा उत्पादनको उल्लेखनीय उपयोगबाट नेपालले दक्षिण एसियामै हरित गृह ग्यास उत्सर्जन कम गरी घरायसी उत्सर्जनलाई घटाउन सक्ने देखिन्छ । यसका लागि नेपालले सुक्खायाममा स्वच्छ ऊर्जाको व्यवस्थापन गर्नुपर्ने हुन्छ । यसो भएमा ४५ गिगावाट जलविद्युत् र नौ गिगावाट सौर्य ऊर्जाबाट प्रतिवर्ष नौ अर्ब अमेरिकी डलर बराबरको राजस्व आम्दानी हुन सक्छ । यस्तो व्यापारले प्रतिवर्ष सय मिलियन टनभन्दा बढी कार्बनडाइअक्साइड उत्सर्जन घटाउन सकिन्छ। यसले कोइला बालेर र प्राकृतिक ग्यासका उत्पादन केन्द्रहरूबाट उत्पादन हुने उत्सर्जनलाई प्रतिस्थापन गर्न योगदान पुग्दछ ।

नेपालले परम्परागत बायोमास र आयातीत इन्धनबाट स्वच्छ ऊर्जा स्रोतका रुपमा रूपान्तरण हुने हो भने नेट निरो उत्सर्जनको लक्ष्य हासिल गर्न यससम्बन्धी दीर्घकालीन रणनीति बनाउनुपर्ने विज्ञहरूको सुझाव छ । ऊर्जा क्षेत्रले नेपालको कूल उत्सर्जनको झन्डै ५४ प्रतिशत हिस्सा ओगट्ने कार्बनडाइअक्साइडको उत्सर्जनमा ठूलो योगदान दिन सक्ने देखिन्छ ।

हरितगृह अत्यन्त न्यून मात्र उत्सर्जन गर्ने नेपालले जलविद्युत् तथा नवीकरणीय ऊर्जाको उपयोग गरी देशभित्र ऊर्जाको माग पूरा गर्न र छिमेकी मुलुकहरूमा समेत निर्यात गरी त्यहाँको कोइला र प्राकृतिक ग्यासको खपत घटाई हरित गृह ग्यासको उत्सर्जनलाई न्यूनीकरण गराउन सहयोग गर्न सक्ने बारेमा यो दिवसमार्फत जानकारी गराउने अवसर प्राप्त हुने वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक डा मधुसूदन अधिकारीले बताए ।