चितवन राष्ट्रिय निकुञ्जमा चार महिनामा मरे ४९ वन्यजन्तु

चितवन – चितवन राष्ट्रिय निकुञ्जमा चार महिनाको अवधिमा ४९ वन्यजन्तु मरेका छन्। सबैभन्दा बढी २८ चित्तल छन्।

कुकुरको आक्रमणबाट १७ तथा सडक दुर्घटनामा र दलदलमा परेर एक–एक चित्तल मरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए।

तिवारीका अनुसार चालु आर्थिक वर्ष २०७९/८० को साउनदेखि यता चितवन राष्ट्रिय निकुञ्जमा दुई एकसिंगे गैँडा मेरका छन्। एउटा प्राकृतिक कारणबाट र एउटा करेन्ट लागेर मृत्यु भएको छ।

त्यसैगरी एउटा सरकारी घरपालुवा र एउटा निजी हात्तीको प्राकृतिक कारणले मृत्यु भएको निकुञ्जको तथ्यांकमा उल्लेख छ। प्राकृतिक कारणले मृत्यु हुने जनावरमा तीन अर्ना, एक चितुवा, तीन गौरीगाई, दुई कछुवा, एक लगुना र तीन घडियाल गोही रहेको तिवारीले जानकारी दिए।

त्यस्तै एउटा प्राकृतिक कारण र एउटा कुकुरको आक्रमणबाट गरी दुई जरायो पनि मरेका छन्। एउटा बँदेलको पनि मृत्यु भएको छ। निकुञ्जमा सबैभन्दा अहिले सबैभन्दा बढी चित्तल रहेको प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले जानकारी दिए।