काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले आज पाकिस्तानविरुद्ध मैत्रीपूर्ण खेल खेल्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले पाहुना टोली पाकिस्तानको सामना गर्नेछ । खेल साँझ ५ बजे सुरु हुनेछ।
करिब ३ वर्षपछि मैदान फर्किएको पाकिस्तानविरुद्ध नेपाल जित निकाल्ने योजनामा रहेको छ । पाकिस्तान फिफाको निलम्बनबाट फुकुवापछि पहिलो अन्तराष्ट्रिय खेल खेल्नका लागि नेपाल आएको हो ।
पाकिस्तान पनि नेपाललाई हराएर अन्तराष्ट्रिय फुटबलमा फर्कन चाहन्छ । पाकिस्तानविरुद्धको खेल दशरथ रंगशालामा नेपालको लागि ५० औं खेल समेत हो । नेपाल र पाकिस्तान फुटबलमा चिरपरिचित प्रतिद्वन्दी हुन् ।
नेपालले हालसम्म पाकिस्तानसँग १६ खेलमा प्रतिस्पर्धा गरेको छ । जसमा नेपालले ४ खेल जितेको छ ।पाकिस्तानविरुद्ध नेपालले ७ खेलमा हार व्यहोरेको छ भने ५ खेलमा बराबरी खेलेको छ ।














