काठमाडौँ – आइतबार हुने निर्वाचनलाई मध्यनजर गर्दै देशभर ‘बम डिस्पोजल’ टोली परिचालन गरिएको छ । निर्वाचनलाई प्रभावित पार्ने गरी राखिएका बम डिस्पोज गर्न ९०३ वटा सेनाको ‘बम डिस्पोजल टोली’ परिचालन गरिएको गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले बताए ।
गृह मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सिंहले भने– ‘देशभर ९०३ ठाउँमा सेनाको बम डिस्पोजल टोली खटिएका छन्, आवश्यकताअनुसार टोली थप गरिनेछ ।’ आवश्यकताअनुसार बम निष्क्रिय पार्नसक्ने टिम ‘स्ट्यान्डबाई’ राखिएको नेपाली सेनाका एकजना उच्च अधिकृतले जानकारी दिए । उनका अनुसार बम निष्क्रिय गर्नसक्ने थप १५० टिम तयारी अवस्थामा छन् ।
गृहसचिव सिंहले नेपाल प्रहरीका आईजीपी धिरजप्रताप सिंह, सशस्त्रका आईजीपी राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापालाई सँगै राखेर पत्रकार सम्मेलन गरेका हुन् । सम्मेलनमा सिंहले हिंसात्मक गतिविधि गर्नेहरुविरुद्ध ‘शून्य सहनशीलता’को नीति अवलम्बन गरिने बताए ।














