काठमाडौँ – कतारमा जारी २२ औं संस्करणको फिफा विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । गएराति भएको अन्तिक क्वार्टरफाइनल खेलमा फ्रान्सले इंग्ल्याण्डलाई २–१ ले हराएसँगै क्वार्टरफाइनल समीकरण पूरा भएको हो ।
यसपालि अन्तिम ४ मा साविक विजेता फ्रान्स, साविक उपविजेता क्रोएसिया, अर्जेन्टिना र मोरक्को पुगे । जारी विश्वकपको पहिलो सेमिफाइनलमा अर्जेन्टिना र क्रोएसियाले प्रतिस्पर्धा गर्नेछन् ।
यी दुई टोलीबीचको सेमिफाइनल मंगलबार राति १२ः४५ देखि लुसेल स्टेडियममा सुरु हुनेछ । अर्जेन्टिनाले क्वार्टरफाइनलमा नेदरल्याण्ड्सलाई पेनाल्टीमा ४–२ ले हराउँदै सेमिफाइनलको यात्रा गर्यो । त्यस्तै, क्रोएसियाले ब्राजिललाई पेनाल्टीमै हराउन सफल भयो ।
दोस्रो सेमिफाइनलमा मोरक्को र फ्रान्सले प्रतिस्पर्धा गर्नेछन् । यी दुई टोलीबीचको सेमिफाइनल भिडन्त बुधबार राति १२ः४५ बजे अल बेत स्टेडियममा सुरु हुनेछ ।
क्वार्टरफाइनलमा ब्राजिलको चुनौती पन्छाएको क्रोएसिया सेमिफाइनलमा अर्जेन्टिनाको विश्वकप जित्ने सपना पनि टुङ्ग्याउन चाहन्छ।
यसअघि नै नेयमारको विश्वकपको सपना टुङ्ग्याइसकेको क्रोएसियाको टोली अर्जेन्टिनासँगको खेलमा कुनै एक खेलाडीलाई घेराबन्दी गर्नेभन्दा पनि समग्र टोलीलाई नै दबाबमा राखेर रोक्ने योजनामा रहेको क्रोएसियाली टोलीका एक सदस्यले बताए।
‘हामीसँग अहिलेसम्म मेस्सीलाई रोक्ने कुनै विशेष योजना बनाएका छैनौं र हामी कहिले पनि कुनै खेलाडीलाई रोक्नेभन्दा पनि समग्र टोलीलाई नै रोक्ने रणनीतिअनुसार खेल्दै आएका छौं’, क्रोएसियाका स्ट्राइकर ब्रुनो पेट्कोभिकले भने।
आइतबार भएको न्युज कन्फ्रेन्समा बोल्दै उनले थपे, ‘हामी उनीहरुलाई कुनै खेलाडीलाई रोकेर नभई समग्र टोलीलाई नै रोक्न चाहन्छौं।














