सिद्धार्थ राजमार्गको ५० मिटर सडक बग्यो

सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्डको तानसेन नगरपालिका–८, गौडेपुल नजिकैको सडक पहिरोले बगाएको छ । सडकमाथिबाट खसेको पहिरोले राजमार्गको जगैबाट झण्डै ५० मिटर सडक बगाएको स्थानीय प्रशासनले जनाएको छ ।

डुम्रे खोलामा मंगलबार दिउँसोबाट बहाव बढ्दै गएपछि तल्लो भागबाट कटान सुरु गरेको र माथिबाट पहिरो खसेपछि राजमार्ग नै बगाएको सडक डिभिजनका सूचना अधिकारी शिवु खत्रीले जानकारी दिए । वर्षा नरोकिएकाले सडक डिभिजनले ठूला उपकरण लगाएर काम गर्न सकेको छैन । मंगलबारदेखि राजमार्ग अवरुद्ध हुँदा मालवाहक सवारी साधनका चालक र यात्रु अअलपत्र परेका छन् ।