सरकारले १२ देखि १८ वर्ष उमेरका किशोरकिशोरीलाई लक्षित गर्दै ६० लाख डोज फाइजर खोप खरिद गर्ने भएको छ ।
अमेरिकाको फाइजर एन्ड बायोटेक कम्पनीले उत्पादन गरेको खोप खरिद गर्न सम्झौतासमेत भएको छ । किशोरकिशोरीका लागि आवश्यक १ करोड डोज खोपमध्ये थप ४० लाख भने कोभ्याक्सको समन्वयमा ल्याउने तयारी भएको हो ।
स्वास्थ्य सचिव लक्ष्मण अर्यालका अनुसार बालबालिकाका लागि आवश्यक १ करोड डोजमध्ये थप ४० लाख कोभ्याक्स संयन्त्रमार्फत ल्याइने भएको छ । ‘६० लाख डोज खोप खरिद गर्न फाइजरसँग सम्झौता भैसक्यो’ अर्यालले भने । खोप आउन ६ देखि ९ महिना लाग्ने देखिएको छ ।
सरकारले पुससम्म खोप उपलब्ध गराउन आग्रह गरे पनि कम्पनीले ढिलोमा सन् २०२२ को अप्रिल (वैशाख) सम्म दिन सक्ने जनाएको छ । फाइजर कम्पनीबाट खोप खरिद गर्न आवश्यक रकमका लागि विश्व बैंकसँग ऋण सम्झौताको तयारी भइरहेको छ ।
अमेरिकाको फुड एन्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडीए) ले फाइजर र मोडर्ना खोप १२ वर्षदेखि १८ वर्ष उमेर समूहलाई पनि लगाउन मिल्ने प्रमाणित गरिसकेको छ । खोप खरिद, ढुवानी, भण्डारण र वितरणलगायत विषयमा कम्पनीका आधिकारिक व्यक्ति र स्वास्थ्य मन्त्रालयका पदाधिकारीबीच भर्चुर्अल बैठकसमेत भएको थियो ।















