झापाको दमकमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमान–श्रीमतीको मृत्यु भएको छ। मृत्यु हुनेमा कनकाई नगरपालिका–३ का होटल व्यवसायी ४३ वर्षीय पूर्णबहादुर विष्ट र उनकी ३६ वर्षीया श्रीमती भीमा विष्ट रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
मंगलबार राति चालकले मापसे (मादक पदार्थ सेवन) गरेर कुदाएको पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ४ ख ८७३० नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको प्र २–०३–०१३ प ४७८७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि लाइफलाइन अस्पताल दमक पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ। मृतक दम्पती सुुरुङ्गास्थित होटल हेवनका सञ्चालक हुन् ।
मंगलबार विहानै भेडेटार घुम्न गएका विष्ट दम्पतीको सुरुङ्गास्थित घर फर्कने क्रममा मंगलबार राती दुर्घटना भएको हो । ठक्कर दिने ट्रक र चालक विराटनगर महानगरपालिका–४ का ४८ वर्षीय सुजन थापालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालिएको छ। चालकले मापसे गरेर तीव्र गतिमा ट्रक कुदाएका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।















