नेकपा (एकीकृत समाजवादी) मधेश प्रदेश सरकारबाट बाहिरिएको छ ।
आज (मंगलबार) भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री गोविन्द न्यौपाने र श्रम तथा यातायात मन्त्री बेची लुंगेलीले मुख्यमन्त्री सरोजकुमार यादवसमक्ष राजीनामा बुझाएका छन् । मन्त्रीद्वयले राजीनामा बुझाएसँगै जनता समाजवादी पार्टी नेपाल एक्लिएको छ ।
सत्ता समीकरणमा असन्तुष्टि प्रकट गर्दै एकीकृत समाजवादी मधेशबाट बाहिरिएको थिएन । मधेशबाट बाहिरिन पहिला सुदूरपश्चिम प्रदेश सरकारले पूर्णता पाउनुपर्ने अडान राख्दै आएको एकीकृत समाजवादी अन्ततः सरकारबाट बाहिरिएको हो ।
मधेश प्रदेशका मुख्यमन्त्री यादव अहिले अल्पमतमा छन् । जसपा नेपाल पार्टी विभाजन भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने कानुनी प्रावधानअनुसार ३०औं दिनमा मुख्यमन्त्री यादवले भोलि (बुधबार) विश्वासको मत लिन लागेका थिए । तर, अहिले सत्ता साझेदार दलहरूले एकपछि अर्कोले साथ छोडेपछि अहिले एक्लो भएका छन् ।
यसअघि नेकपा एमाले र नेकपा माओवादी केन्द्रले सरकारबाट राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।
कूल १०७ सदस्यीय प्रदेश सभामा सरकार बनाउनका लागि ५४ सांसदको समर्थन आवश्यक पर्छ । एकीकृत समाजवादी पनि सरकारबाट बाहिरिएसँगै मुख्यमन्त्री यादवले विश्वासको मत पाउने सम्भावना टरेर गएको छ ।