दाङमा खोलाले बगाएर एक बालकसहित तीन जनाको मृत्यु

दाङमा खोलाले बगाएर एक बालकसहित तीन जनाको मृत्यु भएको छ । जिल्लाको ग्वार खोला र पातु खोलाले बगाउँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

अविरल वर्षापछि ग्वारखोलामा आएको बाढीले माइत हिँडेकी तुलसीपुर उपमहानगरपालिका वडानम्वर–४ सिम्लेनीकी ३५ वर्षीया अमृता घर्ती र उनका दुई वर्षीय छोरा रुद्र घर्तीलाई बगाउँदा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए । सिम्लेनीबाट पतेनी जान ग्वारखोला तर्ने क्रममा पतेनी घाटमा खोलाले बगाएर आमाछोराको मृत्यु भएको रिजालले बताए ।

यसैगरी तुलसीपुरस्थित पातुखोलामा एक पुरुष मृत फेला परेका छन् । तुलसीपुर–८ टिकरीका ४५ वर्षीय चुलुवा चौधरी पातुखोलामा मृत अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । आइतबार घरनजिकै पातुखोलामा नुहाउन गएका चौधरीको राति नै शव फेला परेको प्रहरीले बताएको छ ।