सिद्धार्थ राजमार्ग अन्तर्गतको बुटवल–पाल्पा सडकखण्डबाट एक बोलेरो जीप तिनाउ नदीमा खसेको छ । मंगलबार बिहान करिब १० बजे सिद्धबाबादेखि केहि अगाडि हेडबक्स नजिक सुख्खा पहिरोमा झरेको ढुंगा लागेर बा१८च ७३३६ नम्बरको बोलेरो गाडी तिनाउमा खसेको हो ।
पाल्पाबाट बुटवलतर्फ आउँदै गरेको उक्त गाडी बाटोभन्दा झण्डै १५० मिटर तल नदीको सतहमा पुगेको छ । दुर्घटनामा गाडीमा सवार ४ जनालाई घाइते अवस्थाबाट उद्दार गरिएको ट्राफिक प्रहरी उपरीक्षक डिल्लीनारायण पाण्डेले बताए ।
घाइतेमध्ये पाल्पा तिनाउ गाउँपालिका–३ झुम्साका बाबुराम पाण्डेय गम्भिर घाइते छन् । झुम्सा कै विनोद पाण्डे, अमित बस्याल र गङ्गा दराई घाइते भएका छन् । उनीहरू सबैको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।















