उदयपुरको त्रियुगामा टिपरको ठक्करबाट दुई युवाको मृत्यु भएको छ।
मदन भण्डारी लोकमार्गमा पर्ने त्रियुगा नगरपालिका–१, फूलजोरमा मंगलबार साँझ प्र १–०२– ००१ ख ८५१४ टिप्परले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई युवाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
मृत्यु हुनेमा सुनसरीको रामधुनी नगरपालिका घर भई त्रियुगा नगरपालिका–११ बस्दै आएका ३० वर्षीय रविन श्रेष्ठ र त्रियुगा नगरपालिका–३ घर भएका २४ वर्षीय हिरा राई रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश थापाका अनुसार गाईघाटबाट बेल्टारतर्फ जाँदै गरेको मोटरसाइकललाई विपरित दिशाबाट आइरहेको टिपरले ठक्कर दिँदा दुर्घटना भएको हो ।
मृतक श्रेष्ठ र राईको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल गाईघाटमा राखिएको छ।
ठक्कर दिने टिपर र त्यसका चालक त्रियुगा नगरपालिका–७ निवासी भीमबहादुर राईलाई नियन्त्रणमा लिएर कारबाही प्रक्रियाअघि बढाएको एसपी थापाले जानकारी दिए ।















