ओलीको प्रश्न- प्रधानमन्त्रीज्यू जनता जान्न चाहन्छ, एमसीसी के हुन्छ ?

प्रमुख प्रतिपक्षी दल एमालेका नेता केपी शर्मा ओलीले अमेरिकासँग गरिएको मिलिनियम च्यालेन्च कर्पोरेसन (एमसीसी) बारे साझा न्यूनतम कार्यक्रममा के गर्ने भन्ने उल्लेख गर्न बिर्सिएको हो भनेर प्रधानमन्त्री शेरबहादुर देउवालाई सोधेका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै ओलीले सोधे, ‘नेपाली जनताले जान्न चाहेको छ सम्माननीय प्रधानमन्त्रीज्यू, के गर्नुहुन्छ एमसीसी ? एमसीसी पास गर्ने कि फेल गर्ने कि चुप लाग्ने ?’

उनले संयुक्त सरकारको साझा कार्यक्रममा विभिन्न अनुहार देखिए पनि काँग्रेसको अनुहार भने नदेखिएको टिप्पणी गरे । ‘अचम्म लाग्छ, नेपाली काँग्रेसको अनुहार कतै छैन । नीतिमा छैन, कार्यक्रममा छैन, केहीमा पनि छैन ।’

‘साझा कार्यक्रममा साना र मसिना कुरा मात्रै छ, पहिले तपाईंहरुले नै एमसीसी गर्नुभएजस्तो लाग्थ्यो, तपाईंहरुले’, ओलीले एमसीसी साझा कार्यक्रममा नभएको प्रति व्यङ्ग्य गर्दै भने, ‘एमसीसीको बारेमा त केही पनि छैन, एमसीसी बिर्सिनु भयो कि के हो । मैले त देखिन कतै । अनि केपी ओलीले कतै एमसीसी पास गर्नुपर्छ भनेको क्लिप खोजेर वातावरण बनाउन खोज्नुहुन्छ ?’