प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नै दलका मानिसलाई मन्त्री बनाइदिन अनुरोध गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै ओलीले आफ्नो दलमा केही घाटा भएपनि माधव नेपाल पक्षलाई मन्त्री दिन हात जोडेर बिन्ती गर्दै देउवासँग आग्रह गरेका हुन् ।
‘सम्माननीय प्रधानमन्त्रीज्यू मेरै पार्टीका केही मान्छेहरू पाउँला र खाउँला भनेर तपाईँका पछि कुदेका छन् । सम्माननीय प्रधानमन्त्रीज्यू तिनीहरूलाई मन्त्री दिनुस् न ! किन विलम्ब गर्नुभएको ?’, ओलीले भने, ‘हिरिक्क हिरिक्क भएका छन् विचराहरू मन्त्री खानका लागि प्लिज !’
उनले मन्त्री खान स्वाँस्वाँ र फ्याँफ्याँ गरिरहेको भन्दै सांसदहरूप्रति कटाक्ष पनि गरेका छन् । देउवालाई हात जोडेर नमस्कारसहित बिन्तीको शैलीमा ओलीले भने, ‘यति त गराइसक्नु भयो, पछिपछि हिँडेका छन् । कुदेका छन्, फ्याँफ्याँ, स्वाँस्वाँस्वाँ गरेका छन् । मन्त्री खानपाउँ भनेका छन्। बिहान बेलुकै चाकरीमा हाजिर भएका छन् । मन्त्री दिनुस् प्लिज !’
साउन ३ मा एमालेका २२ सांसदले फ्लोर क्रस गर्दै प्रधानमन्त्री देउवालाई मत दिएका थिए ।














