लुम्बिनी प्रदेश सरकारका थप दुई जना मन्त्रीले राजीनामा दिने भएका छन् । जनता समाजवादी पार्टीबाट मुख्यमन्त्री शंकर पोखरेलको नेतृत्वको सरकारमा सहभागी भएका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विजयबहादुर यादव र उद्योग, वन तथा वातावरणमन्त्री कल्पना पाण्डे लम्सालले राजीनामा दिन लागेका हुन् । उनीहरु पहिलो पटक वैशाख ६ गते र दोस्रो पटक वैशाख १९ गते मन्त्रीमा नियुक्त भएका थिए। यसअघि मंगलबार राति भौतिक पूर्वाधार विकासमन्त्री सन्तोषकुमार पाण्डेयले पदबाट राजीनामा दिएका थिए ।
यस्तै यसअघि भौतिक पूर्वाधार विकास राज्यमन्त्री सुमन शर्मा रायमाझीले भने एक महीनाअघि नै राजीनामा दिएर पार्टीमा फर्केकी छन् । उनीहरु तिनैजनालाई पार्टी निर्णय विपरीत सरकारमा गएको र पटक–पटक पार्टीको ह्वीप उल्लंघन गरेको भन्दै पार्टीले सांसदबाट पदमुक्त गरिसकेको छ । यस्तै आजै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिने भएका छन् । प्रदेशसभामा अल्पमतमा परेपछि पोखरेलले राजीनामा दिन लागेका हुन् ।















