कुलमान घिसिङले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको नियुक्तिपत्र बुझेका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । बुधबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको उपस्थितिमा मन्त्रालयका सचिव देवेन्द्र कार्कीले घिसिङलाई ४ वर्षे नियुक्तिपत्र प्रदान गरेका हुन् ।
मन्त्रिपरिषद्को बैठकले कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई भने विशिष्ट श्रेणी (सचिव) सरह र अहिले खाईपाई आएको सेवा सुविधालाई यथावत राखी जल तथा उर्जा आयोगको पूर्णकालीन सदस्यमा ४ वर्षका लागि नियुक्त गरेको छ ।
२०७७ भदौमा आफ्नो चारवर्षे कार्यकाल पूरा गरेर बिदा भएका घिसिङ फेरि प्राधिकरणमा फर्किएका हुन् । २०७३ सालमा कार्यकारी निर्देशक नियुक्त भएका घिसिङले यसअघिको कार्यकालमा देशलाई लोडसेडिङमुक्त गर्न प्राधिकरणबाट नेतृत्वदायी भूमिका खेलेका थिए ।















