लुम्बिनी प्रदेशमा चार दलीय गठबन्धनले नयाँ सरकार गठनका लागी दाबी पेश गरेसँगै आजै मुख्यमन्त्री नियुक्तदेखि मन्त्रीमण्डल गठनको तयारी थालिएको छ ।
गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्रीका रुपमा अगाडि सार्दै प्रदेश प्रमुख अमिक शेरचन समक्ष ४२ जना सांसदहरुको हस्ताक्षारसहितको दाबी पेश गरेको गठबन्धनले सरकारमा सहभागी हुने मन्त्रीहरुको चयनका लागि तयारी तीव्र पारेका छन् । सरकार गठनका लागि प्रदेश प्रमुख शेरचनले बिहीबार दिउँसो ३ बजेसम्मका लागि समय दिएका छन् । समयसीमा सकिएपछि मुख्यमन्त्रीमा केसीलाई बिहीबार नै नियुक्त गर्ने तयारी गरिएको छ ।
गठबन्धनका नेताहरुले ३ दलबाट एक एक जना सहभागी हुने गरी मन्त्रीमण्डल गठनको तयारी गरेका भए पनि अन्तिम चरणमा केही थप हुने देखिएको छ । ४ दल मध्ये राजमो सरकारमा सहभागी नहुने भएको छ । लुम्बिनी प्रदेशसभामा जनमोर्चाका १ जना सांसद रहेका छन् । बाँकी तीन दल मध्ये जसपाका तीन जना नै मन्त्री हुने भएका छन् ।
जसपा संसदीय दलका नेता सहसराम यादवका अनुसार यादव भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी समाल्ने गरी सरकारमा सहभागी हुँदैछन् । जसपाका बाँकी २ सांसद पुर्मती ढेगा र सुमन शर्मा रायमाझी विना विभागीय मन्त्री बन्ने तयारीमा छन् ।
कांग्रेसबाट डिल्ली चौधरी मन्त्री हुने सम्भावना रहेको छ । त्यस्तै माओवादीमा दामाकुमारी शर्मा, कृष्णध्वज खड्कालगायतको मन्त्री बन्नेमा चर्चा रहेको भएपनि आज गठन हुने मन्त्रीपरिषदमा विमला कुमारी खत्री (वली) लाई पठाउने सम्भावना बढी रहेको छ । मन्त्रीहरुको टुंगो लगाउन गठबन्धनमा आवद्ध दलहरु छलफलमा रहेका छन् । स्रोतका अनुसार लुम्बिनी प्रदेशमा मन्त्री छान्न काठमाण्डौंमा माओवादीका वर्षमान पुन, कांग्रेसका बालकृण्ण खाँण र जसपाका मोहम्मद इस्तिहाक राईबीच छलफल जारी छ ।















