नेपाल नागरिक उड्डयन प्राधिकरणलाई टुक्र्याउने गरी विधेयक आएको भन्दै विधेयक फिर्ताको माग गर्दै प्राधिकरणका कर्मचारीले आन्दोलनलाई जारी राखेका छन् ।
प्राधिकरणलाई टुक्र्याएर दुई वटा संस्था बनाउने गरी विधेयक तयार भएको भन्दै उनीहरुले महानिर्देशक लगायतका कार्यकक्षहरूमा तालाबन्दी गरि आन्दोलन गरेका हुन् । नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक २०७६ र हवाई सेवा प्राधिकरण विधेयक २०७६ राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधिसभामा जाने क्रममा रहेको र यसले हवाई सेवालाई महँगो बनाउनुका साथै स्वार्थ समूहको चलखेलले उड्डयन सुरक्षामा नै असर पर्ने उनीहरूको भनाई छ ।
प्राधिकरण टुक्र्याउन लागि विभिन्न हवाई माफियाहरू र स्वार्थ समूह अनुकूल योजनाबद्ध रूपमा कदम चालिएकाले यस विधेयकलाई कुन पनि हालतमा पास गर्न नदिनका लागि आन्दोलन गर्नुपरेको प्राधिकरण कर्मचारी सङ्गठनका कार्यबहाक अध्यक्ष मीनप्रसाद खनालले बताए ।
कर्मचारीको आन्दोलनका कारण प्राधिकरणको दैनिक कामकाजमा असर परेको छ । युरोपियन युनियनले नेपाललगायतका एसियन मुलुकमा व्यापार गर्ने उद्देश्य राखेको र व्यापारीहरूको साँठगाँठमा संस्था निजीकरण गर्ने पाटोमा लगिएको कर्मचारीहरूको आरोप छ ।















