नेकपा एमालेका स्थायी कमिटी सदस्य केशव बडालले पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाललाई पार्टी छोडेर नजान आग्रह गरेका छन् । रिपोटर्स क्लब नेपालले बिहीबार काठमाडौँमा गरेको साक्षात्कारमा उहाँले एकताको लागि पर्याप्त आधार भएकोले घनिभूत छलफल गरेर पार्टी एकताको लागि नै लाग्नुपर्नेमा जोड दिए । उनले माधव नेपालले आफ्नै पार्टीलाई कमजोर पार्ने काम गरेको र त्यो ठूलो अपराध भएको पनि टिप्पणी गरेका छन् ।
नेपाललगायत नेताहरूले पार्टीको विधान र नीतिविपरित गतिविधि गरेकोले उनीहरूलाई कारबाही गर्ने पर्याप्त आधार हुँदाहुँदै पनि आफूहरूले एकताको लागि कारबाही नगरेको उनको भनाई थियो । नेता बडालले अब पार्टीलाई एकताको नाममा अल्झाएर राखिरहन नहुने भएकोले आवश्यक गतिविधि अघि बढाउनुपर्ने भएकोले सोहीअनुसार कामकारबाही अघि बढाइएको स्पष्ट पारेका छन् ।
त्यस्तै, नेता बडालले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले भूमि आयोग विघटन गरेकोमा आपत्ति जनाए । उनले आयोगमा रहेका अध्यक्ष देवीप्रसाद ज्ञवाली नेकपा माओवादी केन्द्र का अध्यक्ष प्रचण्डभन्दा लामो राजनीतिक इतिहास भएको व्यक्ति भएको पनि बताएका छन् ।















