पपुआ न्यु गिनीलाई पराजित गर्दै युगान्डाले आईसीसी टी–२० विश्वकपमा इतिहास रचेको छ । अमेरिका र वेस्ट इन्डिजमा जारी विश्वकप २०२४ मा डेब्यु गरेको युगान्डाले पहिलो जित निकाल्दै इतिहास बनाएको हो ।
बिहीबार बिहान भएको समूह ‘सी’ को खेलमा पिएनजीलाई ३ विकेटले पराजित गर्दै युगान्डाले विश्वकपमा पहिलो जितको स्वाद लिन पाएको हो ।
विश्वकपको डेब्यु खेलमा युगान्डा अफगानिस्तानसँग १ सय २५ रनको फराकिलो अन्तरले पराजित भएको थियो । अफगानिस्तानले दिएको १ सय ४ रनको लक्ष्य पछ्याउँदा ५ रनमा अलआउट भएको थियो ।
तर आज पीएनजीले दिएको ७८ रनको सामान्य लक्ष्य युगान्डाले १८.२ ओभरमा ७ विकेटको क्षतिमा भेट्टायो ।
युगान्डाको जितमा रियाजत अली शाहले सर्वाधिक ३३ रनको योगदान दिए । उनले ५६ बलमा १ चौका हाने । जुमा मियामी १३ रन बनाउँदा रन आउट भए । अन्य कुनै पनि ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन् ।
त्यसअघि गुयानाको प्राभिडेन्स स्टेडियममा युगान्डाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको पीएनजी ५ बल अगावै ७७ रन बनाउँदा अलआउट भयो ।
पीएनजीका लागि हिरी हिरीले १५, लेगा काइका र किपलिन डोरिगाले समान १२ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन् ।
पीएनजीलाई कम स्कोरमा रोक्न अल्पेश रामजनी, कसमस क्युवाटा, जुमा मियागी र फ्यांक सुवुगाले समान २ विकेट लिए । ब्रियन मासाबाले एक विकेट लिए ।
जितसँगै युगान्डा अंक तालिकाको तेस्रो स्थानमा छ । लगातार दुई खेलमा पराजित पिएनजी चौथो स्थानमा छ । पीएनजी भने वेष्ट इण्डिजसँग ५ विकेटले पराजित भएको थियो ।
अंक तालिकामा अफगानिस्तान शीर्ष र वेष्ट इन्डिज दोस्रो स्थानमा छ । यही समूहको न्युजिल्यान्डले भने विश्वकप यात्रा सुरु गरेको छैन ।