मधेश प्रदेशमा सरकार गठनलाई दिएको समय आज सकिँदै

मधेश प्रदेश प्रमुख सुमित्रा भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेको समय आज सकिँदै छ । बुधबार मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत नपाएपछि प्रदेश प्रमुख भण्डारीले नयाँ सरकार गठनको आह्वान गरेकी थिइन् ।

प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति जारी गरी संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्न शुक्रबार बिहान १० बजेसम्मको समय दिएको थियो ।

“संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेशसभा सदस्यलाई मिति २०८१/०२/२५ गते शुक्रबार बिहान १० बजेभित्र मधेस प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त गर्ने प्रयोजनका लागि आफ्नो दाबी पेस गर्न अनुरोध छ,” विज्ञप्तिमा भनिएको थियो ।

सत्ता गठबन्धनले जनमत पार्टीको नेतृत्वमा सरकार गठन गर्ने सहमति गरिसकेको छ । प्रदेशको सबैभन्दा ठूलो दल नेकपा (एमाले), माओवादी केन्द्र, एकीकृत समाजवादीसहित चार दलले जनमत पार्टीको नेतृत्वमा सरकार गठन गर्ने सहमति गरेका हुन् ।

जनमतले सप्तरी २(१) बाट निर्वाचित सांसद सतिश सिंहलाई मुख्यमन्त्रीका रूपमा अघि सार्ने निर्णय गरेको छ ।