ओलीको स्पष्टीकरण– त्यतिबेला संसद् विघटन नगरेको भए एमाले समाप्त हुने थियो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले त्यतिबेला संसद् विघटन नगरेको भए एमाले समाप्त हुने अवस्थामा पुगेको बताएका छन् ।

एमाले काठमाडौं जिल्लाको सातौँ अधिवेशनको शनिबार उद्घाटन गर्दै उनले पार्टीभित्रकै केही व्यक्तिले एमालेलाई दक्षिणपन्थी शक्तिको पाउमा बुझाउने देखेपछि आफूले संसद् विघटन गरेको जिकिर गरे । संसद् विघटन भएकै कारण अहिले पनि एमाले अस्थित्वमा रहेको उनको भनाइ थियो ।

‘त्यतिबेला प्रतिनिधि सभा विघटन नगरेको भए आज नेकपा एमाले भन्न पाउँदैनथ्यौं हामीले । यो अन्तै लगेर बुझाइसक्या हुन्थ्यो । दक्षिणपन्थीहरूको पाउमा जसरी सरकार बुझाइयो एमाले पनि बुझाइसक्या हुन्थ्यो,’ उनले भने ।

ओलीले आफ्नै पार्टी नेतृत्वको सरकार ढाल्न, विपक्षीलाई प्रधानमन्त्री बनाउन र अदालत धाउनेहरूले अहिले ठूला कुरा गरेको बताए ।

‘नवौं महाधिवेशनबाट निर्वाचित भएको अध्यक्ष जसले पार्टीलाई प्रमुख हैसियतमा मात्र होइन मजबुत हैसियतमा पुर्‍याएको छ । सबैभन्दा ठूलो पार्टी बनाएको छ । जसले देशभरीको पार्टीहरूलाई मिलाएर झन्डै दुई तिहाइको शक्ति बनाएको छ उसैलाई साधारण सदस्यबाट समेत निकालेको देख्नुभएन ? यस्तो तमासा दुनियाँमा काहीँ हुन्छ ?,’ उनले भने । तर अहिले पार्टी इतिहासकै मजबुत भएको ओलीले दाबी गरे ।

‘पार्टीमा भएका विकृति र विसंगतीहरूलाई पराजित गरेका छौं। पार्टीको विपक्षमा बोल्ने आदत बनेको थियो केही नेताहरूमा ती कुराहरूलाई विस्थापित गरेका छौं। आज पार्टी एउटै नीति र एउटै विचार र कार्यक्रममा एकढिक्का छ,’ उनले भने ।

एमालेमा आजको एकता दुनियाँका थोरै पार्टीहरूमा हुनसक्ने ओलीले बताए । आउँदो निर्वाचनबाट ‘काठमाडौं जिल्ला एमालेको किल्ला’ हुने उनले बताए । उनले जिल्ला अधिवेशनमा नेतृत्व लिने नाममा पार्टी र संगठनलाई विभाजन गर्ने काम नगर्न निर्देशन दिए ।

तीन दिनसम्म चल्ने अधिवेशनमा काठमाडौंका विभिन्न पालिकाबाट गरी ५८५ प्रतिनिधि सहभागी भएका छन् ।