अध्यागमन विभागले संयुक्त अरब इमिरेट्स (यूएई) जान लागेका नेपाली नागरिकको राहदानीमा ‘रोजगारी निषेध’ सम्बन्धी छाप लगाएको प्रकरणमा दुई जना अधिकृतलाई कारबाही गरेको छ।
विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा कार्यरत ती अधिकृतहरूलाई प्रचलित कानुन र विभागीय निर्णयविपरीत गैरकानुनी अभ्यास गरेको भन्दै जिम्मेवारीबाट हटाएको जनाएको छ। उनीहरूको परिचय भने सार्वजनिक गरिएको छैन।
यूएई प्रस्थान गर्न लागेका नेपाली नागरिकको राहदानीमा प्रस्थान छापसँगै ‘रोजगारी पूर्ण रूपमा निषेध गरिएको छ’ भन्ने व्यहोरा लेखिएको फेला परेपछि यो विषय सार्वजनिक भएको हो। घटनाबारे सत्यतथ्य पत्ता लगाउन विभागले वैशाख ३ गते नै छानबिन समिति गठन गरेको थियो।
विभागका प्रवक्ता टीकाराम ढकालले विज्ञप्ति जारी गर्दै नेपाली नागरिकलाई शर्त तोकेर प्रस्थान अनुमति दिने कुनै नीति वा निर्णय नभएको स्पष्ट पारे। नीतिविपरीत काम गर्ने अधिकृतहरूलाई तत्काल जिम्मेवारीबाट हटाइएको र थप छानबिन जारी रहेको उनले बताए।
अध्यागमन विभागले आफ्ना कर्मचारीलाई प्रचलित ऐन, नियम तथा परिपत्रअनुसार मात्रै काम गर्न निर्देशन दिँदै यस्ता गैरकानुनी गतिविधिमा संलग्नलाई कारबाहीको दायरामा ल्याइने प्रतिबद्धता जनाएको छ।














