नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अर्को निर्वाचनमा काठमाडौं पूरै जिल्ला एमालेले जित्ने ठोकुवा गरेका छन् ।
शनिबार काठमाडौं जिल्ला कमिटीको अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अर्को चुनावमा काठमाडौंका स्थानीय तहदेखि प्रतिनिधि सभासम्म एमालेले जित्ने दाबी गरेका हुन् ।
‘कान खुलेर सुनेहुन्छ । आगामी निर्वाचनमा काठमाडौं जिल्ला एमालेको किल्ला,’ उनले भने ।
उनले विपक्षीहरू सबैलाई आ-आफ्नो तयारी गर्नसमेत चुनौती दिएका छन् । ‘आफ्नो आफ्नो तयारी गरे हुन्छ । मोर्चा कसे हुन्छ । कम्मर कसे हुन्छ । घुँडा धसे हुन्छ । नेकपा एमालेले पराजित गर्छ, गर्छ । पछार्छ, पछार्छ,’ ओलीले भने ।
उनले एउटा अवधिमा त्यो हार भएपनि अरुको भन्दा आफूहरूकै उचाइ अग्लो रहेको पनि जिकिर गरे ।
‘हामीले एउटा मोर्चामा एक अवधि हारेका हौँ, हामीले एउटा निर्वाचन हारेका हौँ । सबैले टेबल राखेर आफ्नो उचाइ देखाएका हुन् हामी आफ्नो उचाइ राखेर यहाँ आएका हौँ,’ ओलीको दाबी थियो, ‘कुन चाहीँ पार्टी हाम्रोजस्तो एक्लै आफ्नै उचाइमा नापिएको छ ? कांग्रेस माओवादीका काँधमा टेकेर, अर्को एसको, उसको काँधमा टेकेर यति अग्लो भएको होइन ? नेकपा एमाले कसैको काँधमा होइन, आफ्नै खुट्टामा टेकेर यति अग्लो भएको हो ।’
उनले विरोधीलाई कान खोलेरै सुन्न आग्रह गर्दै आगामी निर्वाचनमा एमालेले सबै शक्तिहरूलाई काठमाडौँमा पछारेरै छाड्ने दाबी समेत गरे ।
‘हामी आगामी निर्वाचनमा विरोधीलाई पनि भन्न चाहन्छु, कान खोलेर सुने हुन्छ, आगामी निर्वाचनमा काठमाडौँ जिल्ला एमालेको किल्ला । आफ्नो आफ्नो तयारी गरे हुन्छ, मोर्चा कसे हुन्छ, कम्मर कसे हुन्छ नेकपा एमालेले पराजित गर्छ, पछार्छ पछार्छ । यो कुरा खुला छ । किनभने यो जरुरी छ, देश, विकास, सभ्यता र संस्कृतिका लागि यो जरुरी छ,’ ओलीले भने ।