केन्द्रीय सत्ता समीकरणलाई कायम राखेर जानुपर्ने बाध्यता छः माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले मधेशमा आफ्नो दललाई मुख्यमन्त्रीको प्रस्ताव आउँदा पनि अस्वीकार गरको बताएका छन् ।

आज (शनिबार) पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा कोशी प्रदेश कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस, जनता समाजवादी पार्टीलगायतका दलले मधेशमा मुख्यमन्त्री दिने प्रस्ताव गरेपनि संघ र प्रदेशमा एउटै गठबन्धनमा रहनु उचित देखेर अस्वीकार गरिएको बताएका हुन् ।

‘मधेश प्रदेशमा मुख्यमन्त्रीको प्रस्ताव आयो । यही पुरानै गठबन्धनमा बस्नुुस्, मुख्यमन्त्री लिनुस् । हिजो आइदिएको भए कति राम्रो हुन्थ्यो । बिहान पनि त्यही फोन, बेलुका पनि त्यही फोन आउँछ,’ उनले भने ।

मधेशमा जनमत पार्टीको नेतृत्वमा हिजो सरकार गठन भइसकेको छ । कांग्रेस, जसपा नेपाल र लोकतान्त्रिक समाजवादीले एकीकृत समाजवादीको समर्थन लिएर मधेशमा सरकार बनाउने प्रयास गरेपनि अध्यक्ष नेपालले निर्णय नगर्दा संघीय सरकारमा सत्ता समीकरणमा रहेका दलहरुले नै सरकार बनाएका थिए ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले एकीकृत समाजवादीका अध्यक्ष नेपाल आफ्नो पार्टीको बारेमा स्वतन्त्रण निर्णय गर्नसक्ने अवस्थामा नरहेको बताएका थिए । अध्यक्ष नेपाललाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले दल विभाजन गराइदिने त्रासमा राखेको अध्यक्ष यादवको दाबी थियो ।

उपेन्द्रको दाबी पुष्टि हुनेगरी अध्यक्ष नेपालले केन्द्रीय सत्ता समीकरणलाई कायम राखेर जानुपर्ने बाध्यता रहेको बताए । ‘परिस्थितिअनुसार हामीले केन्द्रीय गठबन्धनलाई कायम राखेर जानुपर्ने अवस्था छ,’ उनले भने ।