प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शपथग्रहण गर्ने समारोहमा सहभागी हुने सिलसिलामा आज अपराह्न भारतको राजधानी नयाँदिल्ली पुगेका छन् ।
प्रधानमन्त्री प्रचण्डलाई इन्दिरागान्धी विमानस्थलमा भारतीय विदेश मन्त्रालयका कर्मचारीले स्वागत गरेका हुन् ।
तेस्रो कार्यकालका लागि भारतीय जनता पार्टीका नेता मोदीले आज साँझ भारतको प्रधानमन्त्री पदको शपथ लिने कार्यक्रम छ । शपथ समारोहपछि प्रधानमन्त्री प्रचण्ड र उनका समकक्षी मोदीबीच आजै साँझ भेटवार्ता हुने कार्यक्रम रहेको नयाँदिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ ।
प्रधानमन्त्री प्रचण्डका साथमा उनकी स्वकीय सचिव गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी अधिकारी पनि छन् । प्रधानमन्त्री प्रचण्ड सोमबार स्वदेश फर्कर्ने कार्यक्रम छ ।