काठमाडौंमा रोहिंग्या भित्र्याउने ३ जना एजेण्ट पक्राउ

प्रहरीले रोहिंग्याहरुको ओसारपसारमा संलग्न भएको आरोपमा एक बंगलादेशी नागरिकसहित तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले रोहिंग्याहरुको ओसारपसारमा संलग्न भएको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा म्यानमारका नागरिक नोरुल अमिन, शोफिक आलम र बंगलादेशी नागरिक अजमत उल्ला रहेका छन् । उनीहरु काठमाडौं बस्दै आएका थिए भने अनुसन्धानपछि रोहिंग्या भित्र्याउने कार्यमा एजेन्टको भूमिका खेलेको पाइएपछि पक्राउ गरिएको ब्युरोका प्रवक्ता श्यामकुमार महतोले जानकारी दिए ।

उनीहरुले प्रति पुरुष ५ हजार ७ सय ५०, प्रति महिला ३ हजार ७ सय ५० र बालबालिकालाई २ हजार ७ सय ५० रुपैयाँ भत्ता सुविधा दिने भन्दै नेपाल ल्याउन फकाएका थिए । बंगलादेशी नागरिक अजमतले ढाकादेखि काठमाडौँसम्मको यात्राको लागि उनीहरुबाट २ लाख ५० हजार टाका (बंगलादेशी मुद्रा) लिएको प्रहरीले जनाएको छ ।

केही दिनअघि प्रहरीले अवैधरुपमा नेपाल आएर बौद्ध पुगेका १४ रोहिंग्यालाई बौद्धबाट पक्राउ गरेर अध्यागमनलाई बुझाएको थियो ।