पार्टीको इज्जत लुट्ने गए, बल्ल पार्टी राम्रो भयो : ओली

नेकपा (एमाले) अध्यक्ष केपी ओलीले पार्टीको बेइज्यत गर्ने र हुर्मत लिनेहरु बिदा भएपछि पार्टी राम्रो र बलियो भएको दाबी गरेका छन् ।

देशभरका वडा अधिवेशनलाई भर्चुअल माध्यमबाट सम्वोधन गर्दै ओलीले माधव नेपाल र पुष्पकमल दाहाल प्रचण्ड पार्टीबाट अलग्गिएपछि पार्टी थप शसक्त भएको दाबी गरेका हुन् ।

‘पार्टीको बेइज्यत गर्नेहरु गइसके अब पार्टी शुद्धिकरण भयो । पार्टीलाई सरकारबाट हटाउने खेल भए । पार्टीमाथि आन्तरिक र वाह्य साँठगाँठ को निष्कर्ष सरकार फेरबदलमा देखियो । अब पार्टी नयाँ ढंगले अघि बढेको छ,’ उनले भने ।

ओलीले वर्तमान सत्तारुढ गठबन्धन ‘प्रतिक्रियावादी र प्रतिगामी’ भएको आरोप लगाएका छन् । आफू नेतृत्वको सरकार महान् उद्देयश्यका साथ अगाडि बढेको तर पाँच दलीय गठबन्धनले त्यसलाई हटाएको ओलीको आरोप थियो । ‘पाँच दलीय गठबन्धन प्रतिक्रियावादी, प्रतिगामी गठबन्धन हो । कम्युनिस्ट आन्दोलन ध्वस्त पार्ने, फुटाउने, कम्युनिस्ट सरकार ढाल्ने र कम्युनिस्ट आन्दोलनलाई प्रतिक्रियावादीका पाउँमा सेवा गर्ने?,’ उनको आक्रोश थियो ।

अध्यक्ष ओलीले लोकतान्त्रिक भनिएको पार्टी (कांग्रेस)ले समेत अधिवेशन गर्न नसकेको भन्दै एमाले उन्नत पार्टी भएको बताए ।