नेपाललाई बंगलादेशसँग दश वर्षअघिको हारको बदला लिने सुनौलो अवसर

अमेरिका । नेपालले आईसीसी टी–२० विश्वकप २०२४ मा आफ्नो अन्तिम खेलमा बंगलादेशविरुद्ध खेल्दैछ । खेल सोमबार बिहान ५ : १५ मा सेन्ट भिन्सेन्टमा सुरु हुनेछ । समूह डी मा रहेको नेपालको यो अन्तिम खेल हो । नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित हुँदा श्रीलंकासँग वर्षाको कारण टस पनि हुन नसकी खेल रद्द हुँदा १–१ अंक बाँडेको थियो ।

शनिबार भने नेपाल दक्षिण अफ्रिकासँग १ रनले पराजित भएको थियो । स्पिनर कुशल भुर्तेलले ४ र दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिएपछि दक्षिण अफ्रिकाले नेपाललाई ११६ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य पछ्याएको नेपालले ७ विकेट गुमाउँदै ११४ रन बनाएपछि ऐतिहासिक जितको अवसर गुमाएको थियो । अन्तिम दुई बलमा दुई रन चाहिएको अवस्थामा गुल्सन झाले दुबै डट बल खेल्दा नेपाल हार्न पुगेको थियो । उक्त हारले नेपाल सुपर–८ दौडबाट बाहिरिन पुग्यो ।

दक्षिण अफ्रिकाविरुद्ध १ रनको हारको पीडाबाट खेलाडी, समर्थक र शुभचिन्तक बाहिर आउन सकेका छैनन् । उक्त ठूलो पीडा बिर्सनको लागि बंगलादेशविरुद्ध नेपाललाई जितको आवश्यकता देखिन्छ । दक्षिण अफ्रिकाविरुद्धको उक्त प्रदर्शनले टोलीको मनोबल झने उच्च हुनेछ ।

उता बंगलादेशलाई सुपर ८ मा पुग्न जित्नुपर्ने दबाब छ । बंगलादेशले श्रीलंकालाई २ विकेट र नेदरल्यान्ड्सलाई २५ रनले हराएको थियो । यद्यपि बंगलादेशका लागि सुपर ८ खेल्ने सम्भावना त्यति सहज पनि छैन।  यद्यपि सोमबार बिहानको खेलमा बंगलादेश नेपालसँग पराजित भए र नेदरल्यान्ड्सले श्रीलंकाविरुद्ध जित निकाल्दै नेट रनरेटमा अघि रहे बंगलादेश पनि विश्वकपबाट बाहिरिनेछ।

त्यसैले पनि बंगलादेश नेपालविरुद्ध केही दबाबमा हुनेछ। विश्वकपबाट बाहिरिसकेको नेपाल भने सान्त्वना जितको खोजीमा खुलेर खेल्ने अपेक्षा गरिएको छ। त्यसैले बंगलादेश नेपालविरुद्ध जित निकाल्ने रणनीतिमा हुनेछ। नेपाल भने बंगलादेशविरुद्ध जित निकाल्दै सुखद अन्त्यको योजनामा छ। दक्षिण अफ्रिकाविरुद्ध नेपालको प्रदर्शनका कारण बंगलादेशले नेपाली टोलीलाई कमजोर रुपमा लिएको छैन।

१० वर्षपछि बंगलादेशसँग मैदानमा नेपाल

टी २० आईमा नेपाल र बंगलादेश दोस्रो पटक भेट गर्दै छन्। सन् २०१४ मा नेपालले पहिलो पटक विश्वकप खेल्दा बंगलादेशसँग ८ विकेटले पराजित भएको थियो। नेपाली टोली भोलि बिहानको खेलमा त्यो हारको बदला लिने दाउमा समेत हुनेछ।बंगलादेशका लागि लेग स्पिनर रिसद हुसैन सरप्राइज प्याकेज हुन्। बंगलादेशलाई दृढ राख्न उनको प्रदर्शन सम्झनलायक बन्दै आइरहेको छ।

यद्यपि नेपाली टोली ‘फुल अफ सरप्राइज’ टोली हो। नेपालका ओपनर कुशल भुर्तेलले ओपनिङमा मात्र हैन लेग स्पिनरका रुपमा समेत आफूलाई स्थापित गर्दै अलराउन्डर प्रदर्शन गर्दै आएका छन्। दीपेन्द्र सिंह ऐरीको अलराउन्ड प्रदर्शन नेपाली टोलीका लागि जितको आधार बन्दै आएको छ।

वेस्ट इन्डिजमा जारी विश्वकपमा सन्दीप लामिछानेको प्रवेशले समेत नेपाली टोली थप मजबुत बनेको छ। आशिफ शेख विकेट किपिङमा मात्र हैन ब्याटिङको जादु पनि विश्वकपमा देखाइरहेका छन्। बंगलादेशविरुद्ध पनि कुशल र आशिफको जोडी नै ओपनिङमा आउनेछन्।

अंक तालिकामा ३ खेलबाट १ अंक भएको नेपाल चौथो स्थानमा छ। समान खेलबाट श्रीलंकाको पनि १ अंक नै छ। समान ३ खेलबाट बंगलादेशको चार र नेदरल्यान्डस्को २ अंक छ। अपराजित रहेको दक्षिण अफ्रिका ८ अंकमा शीर्ष स्थानमा रहँदै सुपर ८ खेल्नेछ।