काठमाडौं महानगरविरुद्ध कबाड व्यवसायी संघर्ष समितिले काठमाडौंमा प्रदर्शन गरेको छ । आइतबारदेखि सुरु गरेको सडक प्रदर्शनलाई सोमबार पनि निरन्तरता दिएका हुन् । उनीहरूले काठमाडौं महानगरपालिकाले गरेको रिङरोडभित्रबाट कबाड हटाउने निर्णयविरुद्ध विरोध प्रदर्शन गरेका हुन् ।
कबाड व्यवसायीहरुले प्रदर्शनमा ‘छोटे राजाहरूको आतंक बन्द गर, कबाड व्यवसायीको रक्षा गर, कानूनी शासन लागू गर, अदालतको निर्णयको सम्मान गर’जस्ता नारासहित प्लेकार्डसहित प्रदर्शन गरेका हुन् ।
रिङरोडभित्रका कबाड हटाउने काठमाडौँ महानगरपालिकाको निर्णय नसच्याएसम्म प्रदर्शन जारी राख्ने समितिले जनाएको छ ।
कबाड व्यवसायलाई बिस्थापित गर्ने उद्देश्यले रिङरोडभित्रका कबाड हटाउन लागिएको भन्दै व्यवसायीहरुले आन्दोलन गर्नुपरेको बताएका छन् ।
महानगरले यसअघि माइकिङ गरेर कबाड संकलन केन्द्र हटाउन सूचना गरेको थियो । तर कबाड व्यवसायीले कबाड संकलन केन्द्र हटाउन नमानेपछि महानगरले डोजर समेत चलाएको थियो ।














