पसल बन्द गरेर विरोधमा उत्रिए सुन व्यवसायी

जेठ १५ मा सार्वजनिक गरिएको आगामी आर्थिक वर्षको बजेटमार्फत सुनमा थप ५ प्रतिशत भन्सार शुल्क बढाएपछि फिर्ता माग गर्दै सुन व्यवसायी विरोधमा उत्रिएका छन् ।

नेपाल राष्ट्रिय सुनचाँदी व्यावसायी मञ्चको अगुवाइमा सुन व्यवसायी भन्सार दर फिर्ता माग्दै विरोध प्रदर्शनमा उत्रिएका हुन् । सुनको भन्सार दर बढाउँदा उपभोक्तालाई मार परेको, व्यवसाय थलिएको, सुन विलासिताको वस्तु होइन, पुरानै भन्सार दर कायम गरलगायतका प्लेकार्डसिहत व्यवसायीले न्यूरोड क्षेत्रमा पसल बन्द गरेर विरोधमा उत्रिएका छन् ।

व्यवसायीहरूले न्युरोड गेटदेखि ब्यानर र प्लेकार्डसहित सिट्ठी र नारा लगाउँदै प्रदर्शन गरेका थिए ।

अघिल्लो वर्ष राष्ट्र बैंकले दैनिक १० किलोग्राम (केजी) सम्म सुन आयात हुँदै आएको कोटा बढाएर दैनिक २० किलोग्रामसम्म आयात गर्न पाउने गरी नयाँ व्यवस्था गरेको थियो ।

सरकारले आगामी आवको बजेटमार्फत सुनमा भन्सार दर १५ प्रतिशतबाट बढाएर २० प्रतिशत पुर्‍याएको छ ।