पथलैया–हटौँडा सडक खण्डअन्तर्गत आधाभार क्षेत्रमा निर्माणाधीन दुई किलोमिटर दूरीको सडक एकसाताभित्र तयार हुने भएको छ । सडक डिभिजन कार्यालय हेटौँडाले उच्च भारवहन क्षमताको उक्त सडक एकसाताभित्रै कालोपत्र सम्पन्न हुने जनाएको हो ।
कार्यालयका सूचना अधिकारी रमेश पाण्डेले पथलैया–हेटौँडा खण्डमा वीरगञ्ज भन्सार कार्यालय हुँदै आउने अत्यधिक भारका मालबाहक सवारीसाधनले सडक धसिने समस्याको अन्त्य गर्न पहिलो चरणमा दुई किमी खण्डमा नमुना सडकका रुपमा स्तरोन्नति गर्न लागेको बताए ।
‘यो खण्डमा अत्यधिक भारका सवारी सञ्चालन हुने भएकाले सडक धसिने समस्या देखिँदै आइरहेको छ । पहिलो चरणमा पथलैया–हेटौँडा खण्डको आधाभार क्षेत्रमा नमुना सडक स्तरोन्नति अगाडि बढाएका थियौँं,’ सूचना अधिकारी पाण्डले भने, ‘अहिलेसम्म दुई लेनको एक हजार दुई सय मिटर सडक तयार भइसकेको छ । बाँकी आठ सय मिटर पहिलो चरणमा कालोपत्र (डीबीएम) भइसकेको छ । दोस्रो चरणको अस्फास्ट कालोपत्र गर्ने काम दुई-तीन दिनभित्रै सम्पन्न गर्ने लक्ष्य राखेका छौँं ।’ उनले वर्षा शुरू भएर पानी पर्न थालेकाले पनि केही दिन काम प्रभावित भइरहेको बताए ।
यो खण्डको सडकको भौतिक प्रगति ८० प्रतिशत भइसकेको छ । गत माघ २२ गते सडक डिभिजन हेटौँडा र चौधरी निर्माण सेवाबीच ठेक्का सम्झौता भएको थियो । यो आयोजनाको लागत रु चार करोड १२ लाख १७ हजार तीन सय ४८ रहेको छ । ठेक्का सम्झौता अनुसार गत जेठ ३० गतेभित्रै निर्माण सम्पन्न हुनुपर्नेमा निर्माण व्यवसायीको ढिलासुस्तीका केही समय ढिला भएको सूचना अधिकारी पाण्डेको भनाइ छ । उनले यो प्रविधिको कालोपत्र गर्दा सडक लामो समयसम्म दिगो र टिकाउ हुने दाबी गरे ।
‘हामीले परीक्षणको क्रममा भीएस ४० ग्रेडको बिटुमिन प्रयोग गरेर सडक कालोपत्र गर्दैछौँ । यो सडक कालोपत्र राम्रो भएको खण्डमा अन्य ठाउँमा पनि विस्तार गर्ने योजना छ,’ सूचना अधिकारी पाण्डले भने, ‘यो खण्डको सडक पहिलो चरणमा डीबीएम कालोपत्र र दोस्रो चरणमा अस्फास्ट कालोपत्र गरिनेछ । यो प्रविधिले सडक भासिने समस्याको पनि अन्त्य गर्ने विश्वास गरेका छौँ ।’














