नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गर्ने सिफारिस समितिको निर्णयविरुद्ध सन्तोष नारायण श्रेष्ठले सर्वोच्चमा रिट हालेका छन्।
अध्यक्षका लागि आवेदन दिएकामध्ये छानिएका ५ जनामध्ये रहेका उनी अन्तिम ३ जना छनोटका लागि भएको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतीकरणमा सामेल थिए। अर्का दाबेदार मुक्ति श्रेष्ठ पनि अन्तर्वार्तामा सामेल थिए। तर ३ जना नआएपछि सिफारिस समितिले अर्थ मन्त्रालयलाई नाम नै पठाउन सकेन।
महान्यायाधिवक्ताको राय पनि अनुकूल नआएपछि अन्ततः समितिले सूचना जारी गर्दै सबै प्रक्रिया रद्द गरेको थियो। सोसँगै रद्द गर्ने व्यवस्था नियुक्तिसम्बन्धी कार्यविधिमा नभएको भन्दै सर्वोच्च पुगेका हुन्।
श्रेष्ठले धितोपत्रसम्बन्धी ऐन २०६३ बमोजिम नै अध्यक्ष नियुक्तिको प्रक्रिया अघि बढाउनुपर्ने माग गरेका छन्।प्रक्रिया रद्द हुनुअघिका कामकारबाहीलाई यथावत् राख्न माग गरेका उनले रिटमा उच्चतम अंक प्राप्त गर्ने उम्मेदवारको नाम सिफारिस गर्न र सोहीको आधारमा धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्न गराउन आदेश दिन माग गरेका छन्।