नेकपा एमाले र नेपाली कांग्रेसबीच नयाँ गठनबन्धन गर्ने सहमति भएसँगै एकाएक डबल सर्किट लागेको सेयर बजार ४७ अंक बढेर बन्द भएको छ । मंगलबार नेप्से परिसूचक ४७.०४ अंकले बढेर २१०० विन्दुमा बन्द भएको हो ।
यसदिन चार अर्ब ५७ करोड ६८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बजार खुलेको एक मिनेटमा नै चार प्रतिशतले बढेर २० मिनेट बन्द भएको थियो । त्यसपछि पुनः पाँच प्रतिशत बजार बढेर ४० मिनेट बन्द भएको थियो ।
११ बजेर २१ मिनेट जाँदासम्म बजार १०२।६८ अंकले बढेर २१५६।०७ विन्दुसम्म पुगेको थियो । त्यसपछि मध्याह्न १२ बजे खुलेको बजार निरन्तर ओरालो लागेको थियो ।
आज नेप्से परिसूचक २.२९ प्रतिशतले बढेको छ । २२७ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । १७ कम्पनीको सेयर मूल्य घटेको छ । तीन कम्पनीको सेयर मूल्य स्थिर छ । हिमालयन डिष्टिलरीको सेयर मूल्य प्रतिकित्ता ८।५४ प्रतिशतले वृद्धि भएको छ ।
कारोबारमा आएका १३ समूहको परिसूचक नै बढेको छ । परिसूचक सर्वाधिक वृद्धि उत्पादन तथा प्रशोधन समूहको ३.३ प्रतिशतले वृद्धि भएको छ ।