विद्युत प्राधिकरणले काट्यो जगदम्बा स्टिलको बिजुली

नेपाल विद्युत प्राधिकरणले बाराको सिमरामा रहेको जगदम्बा स्टिलको बिजुलीको लाइन काटिदिएको छ । डेडिकेटेड लाइनको बक्यौता रकम र जरिवाना नतिरेको भन्दै प्राधिकरणले गएराति नौ बजे लाइन काटिदिएको हो ।

जगदम्बाले डेडिकेटेड लाइनको २५ प्रतिशत जरिवानासहित १ अर्ब ६० करोड रुपैयाँ नबुझाएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । यससँगै विद्युत् प्राधिकरणले लाइन काटिदिएका उद्योगहरुको संख्या ६ पुगेको छ । प्राधिकरणले यसअघि रिलायन्स स्पिनिङ, अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट लगायतका उद्योगका लाइन काटेको थियो ।

नेपाल विद्युत् प्राधिकरण र ६१ वटा उद्योग बिच डेडिकेटेड र ट्रंक लाइनको विद्युत् बक्यौताको विषयमा विवाद चल्दै आएको छ । प्राधिकरणले डेडिकेटेड लाइनको बक्यौता र जरिवाना समयमा नतिरेको कारण बत्ती काटेको जनाइएको छ ।

२०७२ साल माघ महिनादेखि २०७५ साल वैशाखसम्म लोडसेडिङ कायम रहेको अवधिको प्रिमियम महसुल नतिरेका उद्योगहरुको लाइन काटिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरण र उद्योगी बिच विवाद चल्दै आएको छ । विवाद समाधान गर्न सरकारले सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरिसचन्द्र लालको संयोजकत्वमा उच्चस्तरीय आयोग गठन गरेको छ ।

सोही आयोगले दिएको प्रतिवेदनका आधारमा यो विषय समाधान गर्ने बताइएको छ । उद्योगीहरूले भने आयोगको प्रतिवेदनलाई प्राधिकरणले अवज्ञा गरेको दाबी गर्दै आएका छन् ।

यसअघि प्राधिकरणले डेडिकेटड र ट्रंक लाइनको महसुल विद्युत् नियमन आयोगबाट पास हनुभन्दा पहिलेको समय तथा लोडसेडिङ अन्त्य भइसकेपछिको समयको पनि बिल काटेको थियो ।

आयोगले भने यो समयमा प्रिमियम रकम उठाउन नमिल्ने र २०७२ माघदेखि २०७५ वैशाखसम्मको प्रिमियम शुल्क आवश्यक प्रमाणको आधारमा उठाउन सुझाव दिएको थियो ।

उद्योगीले त्यो समयमा प्राधिकरणले सर्तअनुसार विद्युत् उपलब्ध नगराएको दाबी गरेका छन् । सर्तअनुसारको विद्युत उपयोग गरेको प्रमाण दिन सके बक्यौता तिर्न तयार रहेको उनीहरूको भनाइ छ ।