प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आम जनताले देखिने र बुझिने गरी आफू नेतृत्वको सरकार राम्रो अंकका साथ उत्तीर्ण भएको दाबी गरेका छन् ।
पहिलोपटक संसदमा विश्वासको मत लिँदा आफूले उपलब्धिका डाटा र रिपोर्ट कार्डका साथ उपस्थित हुने प्रतिबद्धता गरेको भन्दै उनले अहिले सरकार ‘राम्रो नम्बर ल्याएर पास’ भएको दाबी गरेका हुन् ।
प्रतिनिधिसभाबाट विश्वासको मत लिने क्रममा प्रधानमन्त्री प्रचण्डले संविधान कार्यान्वयन, संघीयताको सबलीकरण, अर्थतन्त्रको सुधार र पुनरुत्थान, उत्पादन र उत्पादकत्व वृद्धि, रोजगारी सिर्जना, सुशासन प्रवद्र्धन, सार्वजनिक सेवा प्रवाहमा सुधार र सरलीकरण हुँदै गएको बताए ।
नागरिकमैत्री शासन प्रणालीको स्थापना तथा भ्रष्टाचार नियन्त्रण, राष्ट्रिय हितको रक्षालगायतका सबै जिम्मेवारीमा सरकारले राम्रो काम गरेको उनको भनाइ छ ।
‘म सबै उपलब्धिको व्याख्या यहाँ गर्न सक्दिनँ, किनभने त्यो धेरै लामो हुन्छ। म यत्ति भन्छु, संविधान कार्यान्वयन, संघीयताको सबलीकरण, अर्थतन्त्रको सुधार, पुनरुत्थान, उत्पादन, रोजगारी, सुशासन, सार्वजनिक सेवा प्रवाह, नागरिकमैत्री शासन प्रणालीको स्थापना, भ्रष्टाचार नियन्त्रण, राष्ट्रिय हितका रक्षा लगायतका सबै जिम्मेवारीमा सरकार आम जनताले देखिने र बुझिने गरी राम्रो अंकका साथ उत्तीर्ण भएको मेरो दाबी छ,’ उनले भने।
साथै, आफूले सरकारी निवास बालुवाटार बसेर सिंहदरबारमा शासन गर्ने परम्परा भत्काएको जिकिर गरे ।
‘मैले बालुवाटारबाट सिंहदरबारमा शासन गर्ने गलत परम्परा भत्काएँ । सिंहदरबारमा नियमित उपस्थित भएर कार्यसम्पादन गरेँ,’ प्रचण्डले भने ।