दिनभर खोज्दा पनि भेटिएनन् त्रिशूलीमा खसेका दुई बस, फेला पर्‍यो बसको पर्दा र एउटा ट्राउजर

नारायणगढ–मुग्लिन सडक खण्डको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोले बगाउँदा बेपत्ता भएका दुई बस अहिलेसम्म भेटिएका छैनन् ।

बेपत्ता भएका बस खोज्ने क्रममा नदीबाट गोताखोरको टोलीले बसमा लगाइएको पर्दा निकालेको छ । हुक लगाएर खोज्ने क्रममा बसमा लगाइएको पर्दा र एउटा ट्राउजर निकालिएको प्रहरीले जनाएको छ ।

उक्त पर्दा वीरगञ्जबाट काठमाडौ आउँदै गरेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्सको भएको बुझिएको नयाँ सबुज गण भरतपुरका गणपति दिनेश लामाले जानकारी दिए ।

‘एन्जल डिलक्स कम्पनीको बसमा यात्रा गर्ने यात्रुले उक्त पर्दा एन्जलको हो भनेका छन्,’ उनले भने, ‘पर्दा भेटिएकोले गाडी त्रिशूली नदीमा खसेको भन्ने बुझिन्छ ।’

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले बिहानैदेखि डुंगामार्फत् खोजी गरिरहेको थियो । उनीहरूले डुंगाबाट रड र बाँसको सहायतामा नदीमा गाडीको खोजी गरिरहेका थिए ।

१२ जना गोताखोरसहित ७० जना सशस्त्र प्रहरी र सैनिक गरी ७४ जना बस र बेपत्ता यात्रुको खोजीमा परिचालन भएका छन् ।

सिमलतालमा आज बिहान करिब ३ बजे वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको बसलाई लेदोसहितको पहिरोले बगाएको थियो ।

तीन यात्रु पौडी खेलेर किनारामा निस्किएका थिए । दुइटा बसमा कति यात्रु थिए अहिलेसम्म यकिन हुन सकेको छैन ।