नेपाली कांग्रेसले केपी शर्मा ओली नेतृत्वमा गठन हुने सरकारमा सहभागी हुने निर्णय गरेको छ ।
पार्टी केन्द्रीय कार्यसम्पादन समितिको शनिबारको बैठकले ओली सरकारमा सहभागी हुने निर्णय गर्दै पार्टीबाट मन्त्री पठाउन मापदण्डसमेत बनाएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार बिहान मन्त्रीहरूको नाम ओलीलाई दिने तयारी गरेका छन् । उनको सचिवालय स्रोतले दिएको जानकारी अनुसार सोमबार बिहान मात्रै कांग्रेसबाट को-को सरकारमा मन्त्रीका रूपमा सहभागी हुन्छन् भन्ने यकिन हुनेछ ।
सभापति देउवाले नेता शेखर कोइराला लगायतसँग मन्त्री हुनेको नाम मागिसकेका छन् । यसैबिच नेता कोइराला र महामन्त्री गगन कुमार थापाको समूहले पार्टीमा कम्तीमा चार वटा मन्त्रालय माग गरेको छ ।
विशालनगरस्थित कोइरालाको सचिवालयमा बसेको बैठकले कांग्रेसले पाउने कूलमध्ये चार मन्त्री आफ्नो समूहले पाउनुपर्ने माग गर्ने निर्णय गरेको हो ।
बैठकमा सहभागी नेता अर्जुननरसिंह केसीका अनुसार समूहले चार मन्त्री माग गर्ने र समूहबाट पठाउने मन्त्रीको चयन गर्ने अधिकार शेखर कोइराला, गगन थापा र धनराज गुरुङलाई दिइएको छ ।
बैठकमा शेखर कोइरालाका साथै गगन थापा, धनराज गुरुङ, बद्री पाण्डे, जीवन परियार, अर्जुननरसिंह केसी, बलबहादुर केसी, दिलेन्द्र बडू, डा मिनेन्द्र रिजाल र डा चन्द्र भण्डारी सहभागी थिए ।