सांसद जबराले मागे क्यानका डीजी अधिकारीको राजीनामा, अटेर गरे निलम्बनमा राख्न सरकारलाई सुझाव

नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य उदय शमशेर जबराले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीको राजीनामा मागेका छन् । आज (सोमबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले महानिर्देशक अधिकारीको कार्यकालमा ७ वटा विमान दुर्घटना हुँदासमेत उनले जिम्मेवारी नलिएको बताएका हुन् ।

यसअघि संसदीय समितिमा पनि डीजी अधिकारीले उक्त घटनाको जिम्मेवारी लिन्छु भनेको उनले स्मरण गराए । तर, डीजी अधिकारीले मुखले मात्रै जिम्मेवारी लिने हो भने सरकारले विमान दुर्घटना छानविनको अवधिसम्म उनलाई निलम्बनमा राख्नुपर्ने बताए ।

‘उहाँ प्राधिकरणका डीजी भएको समयमा ७ वटा दुर्घटना भएको छ । ११८ भन्दा बढी यात्रुको मृत्यु भएको छ । अरु देशमा यो किसिमको घटना भएको भए के हुन्थ्यो ? अस्ती हाम्रो समितिको मिटिङमा हामीले कुरा राख्दाखेरी म जिम्मेवारी लिन्छु भनेर उहाँले भन्नुभयो’ उनले भने, ‘यो भन्दा पहिला पनि त्यही भन्नुभयो । मुखले जिम्मेवारी लिनुभयो । अरु देशमा यस्तो घटना भयो भने राजीनामा दिने चलन छ । अहिलेको डीजीले राजीनामा दिनुपर्दैन रु अथवा डीजीले राजीनामा नदिँदा नेपाल सरकारले अनुसन्धान चलिरहेको बेलासम्म डीजीलाई निलम्बन गर्नुपर्दैन ?’