म्याग्दीका स्थानीय तहले गत आर्थिक वर्ष २०८०/०८१ मा साढे आठ करोडभन्दा बढी आन्तरिक आम्दानी गरेका छन् । गत आर्थिक वर्षको असार मसान्तसम्ममा आठ करोड ७१ लाख ७० हजार दुई सय २८ रुपैयाँ आन्तरिक आम्दानी गरेका हुन् । धवलागिरी, अन्नपूर्ण र मंगला गाउँपालिकाले लक्ष्यभन्दा बढी आन्तरिक आम्दानी सङ्कलन गरेका छन् ।
बेनी नगरपालिकाले चार करोड ५४ लाख ५० हजार आन्तरिक आम्दानी अनुमान गरेकोमा चार करोड दश लाख ४७ हजार नौ सय ९४ रुपैयाँ आम्दानी गरेको प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेलले जानकारी दिए । यो अनुमानित आम्दानीको ९० प्रतिशत प्रगति हो । बेनी नगर क्षेत्र भित्र पर्ने कालिगण्डकी नदीको बगरमा नदीजन्य प्रदार्थ उत्खनन् गर्न सर्वोच्च अदालतले रोक लगाएका कारण आन्तरिक आम्दानी घटेको नगर प्रमुख सुरत केसीले बताए ।
यस्तै, रघुगंगा गाउँपालिकाको एक करोड ३० लाख आन्तरिक आम्दानी अनुमान गरेकोमा एक करोड १२ लाख ६५ हजार पाँच सय चार रुपैयाँ आम्दानी गरेको प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीले जानकारी दिए ।
पर्यटन र जलविद्युतको राम्रो सम्भावना भएको अन्नपूर्ण गाउँपालिकाले गत आर्थिक वर्षमा एक करोड ४७ लाख ५० हजार रुपैयाँ आन्तरिक आम्दानी अनुमान गरेकोमा अनुमान गरे भन्दा बढी एक करोड ७३ लाख ८६ हजार सातसय सय २६ रुपैयाँ सङ्कलन गरेको छ । यो मध्य तातोपानी कुण्ड, पर्यटकीय स्थल पुनहिल र खोप्रालेकबाट एक करोड ३७ लाख ६६ हजार दुईसय ६९ रुपैयाँ सङ्कलन भएको लेखापाल प्रेम पराजुलीले बताए ।
यस्तै, मंगला गाउँपालिकाको अनुमानित आय ५४ लाख ३३ हजार ८ सय रुपैयाँ सङ्कलन गर्ने लक्ष्य राखेकोमा बढी सङ्कलन गरेको छ । मंगलाले गत असार मसान्तसम्म ७७ लाख ७६ हजार चार सय ३१ रुपैयाँ सङ्कलन गरेको गाउँपालिकाको राजस्व शाखाको कर्मचारी राधा कुमारी खत्रीले जानकारी दिइन् । यो मध्य म्याग्दी नदीमा रहेको बगर ठेक्कामा लागएर १३ लाख ७५ हजार चार सय ४८ रुपैयाँ आम्दानी गाउँपालिकाले गरेको छ ।
६३ लाख रुपैयाँ आन्तरिक आम्दानी अनुमान गरेको मालिका गाउँपालिकाले लक्ष्यभन्दा कम सङ्कलन गरेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्म ५४ लाख ९३ हजार ६ सय १३ रुपैयाँ सङ्कलन भएको गाउँपालिकाका लेखापाल सागर पौडेलले जानकारी दिए ।
यस्तै, धवलागिरी गाउँपालिकाले ३५ लाख रुपैयाँ अनुमान गरेकोमा ४२ लाख रुपैयाँ सङ्कलन गरेको गाउँपालिकाका राजस्व शाखाका खरिदार रमेश पौडेलले जानकारी दिए । ‘‘पटक पटक सूचना प्रकाशन गर्दा पनि म्याग्दी नदीको बगर ठेक्कामा लगाउन सकिएन । बगर ठेक्कामा लगाउन पाएको भए अझै धेरै राजस्व सङ्कलन हुने थियो,’’ उनले भने ।
स्थानीय तहको अधिकार क्षेत्रभित्र पर्ने नदीजन्य प्रदार्थहरु ढुङ्ग, बालुवा बाहेक पर्यटकीय स्थल, तातोपानी कुण्डहरुलाई आय ठेक्कामा लगाएर स्थानीय तहहरुले आन्तरिक आम्दानी गर्ने गरेका छन् । साथै व्यवसायको सिफारिस दस्तुर, नक्सा पास, सरकारी सम्पत्तिको भाडा, घरवहाल कर, भूमी कर, व्यक्तिगत घटना दर्ता, व्यवसाय कर, नाता प्रमाणीत लगायतका करहरु सङ्कलन गरेर स्थानीय तहहरुले आन्तरिक आम्दानी गर्दछन् ।
आन्तरिक आम्दानी अपेक्षा अनुसार सङ्कलन नहुँदा कार्यक्रम तथा योजनाहरु कार्यान्वयन गर्न समस्या हुने गरेको बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताए ।